दोषीलाई बचाउन वजार र पसल बन्द

चितवन, २६ असार । राजश्व अनुसन्धान विभागको गाडी जलाएको अभियोगमा पक्राउ परेका विजय लामासहित चार जनालाई विनासर्त रिहाईको माग गर्दै स्थानीय व्यवसायीहरुले आज केही समय नारायणगढ बजार बन्द गराएका छन् ।
बजार र यातायात केही समय बन्द हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको थियो । गाडी जलाएको अभियोगमा पक्राउ पर्ने व्यवसायीहरुमा भरतपुर–२ का बिजय लामा, हरि शाही, शिव जोशी र दीनानाथ पराजुली रहेका छन् ।
लामा सहितको सो समूहलाई तोकिएको धरौटी फिर्ता लिन पनि व्यवसायीले माग गरेका छन् । पक्राउ परेकाहरुसँग स्थानीय प्रशासनले ४ लाख ८३ हजार रकम विगो र धरौटी तोकेको छ ।
व्यवसायीले शहीदचोक, पुल्चोक र लायन्सचोकमा बसेर बजार तथा यातायात बन्द गराएका थिए । राजमार्गको अवरोध भने प्रहरीले खुलाएको थियो ।
स्थानीय प्रशासनले वजार, पसल र यातायात बन्द गराउदै हिडेका व्यापारीलाई कारबाही गर्ने चेतावनी दिएपछि बन्दको कार्यक्रम पनि स्थगित भएको थियो ।
गत जेठ महिनामा राजश्व छली गरेको आशंकामा पसलहरु छापामार्न चितवन आएको टोली सवार राजश्व अनुसन्धान विभागको बा १ झ ९१३५ नम्बरको गाडीमा आगजनी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया