पेट्रोलमा मात्रै २६ करोड नाफा

काठमाडौं, २६ असार । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले नेपाल आयल निगमलाई पेट्रोलमा २६ करोड १० लाख रुपियाँ नाफा भएको छ । विदेशी बजारमा मूल्य गिरावट र नेपाली बजारमा भएको मूल्यवृद्धिले ४ वर्षपछि पहिलोपटक नाफामा आएको निगमलाई १ जुलाईको नयाँ मूल्यसूचीअनुसार २६ करोड १० लाख रुपियाँ कुल नाफा रहेको हो ।

निगमका अनुसार अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर १५ रुपियाँ ३५ पैसा नाफा छ । सोही कारण कुल नाफासमेत बबढेको हो । विगतमा निगमले पेट्रोलमा घाटा बढ्दै गएको भन्दै प्रतिमहिना मूल्य समायोजन गर्दै आएको थियो । भारतीय आयल निगमले पठाएको १ जुलाईको नयाँ मूल्यसूचीअनुसार ४ वर्षपछि निगमलाई अहिले १३ करोड ११ लाख रुपियाँ मासिक नाफा छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्य गिरावटसँगै पछिल्लोपटक निगमले डिजेल र मट्टीतेलमा गरेको मूल्यवृद्धिपछि जुलाईमा नाफा देखिएको छ । आर्थिक वर्ष ०६५/६६ पछि निगम नाफामा आएको यो पहिलोपटक हो ।
निगमका प्रवक्ता मुकुन्द ढुंगेलले विदेशी बजारमा कच्चा तेलको मूल्य गिरावटले नै निगम नाफामा आएको जनाए । यसअघि निगमले प्रतिमहिना घाटाको व्यापार गरिरहेको उनको भनाइ छ । यो चार वर्ष अवधिमा निगमको मासिक घाटा दुई अर्ब रुपियाँसम्म पुगेको थियो । विदेशी बजारमा महँगो मूल्य तिरेर ल्याएको पेट्रोलियम सस्तोमा बिक्री गर्नुपर्दा सधँै निगमले घाटा व्यहोर्नुपरे पनि जुलाईमा भने १३ करोड रुपियाँभन्दा बढी नाफा भएपछि आपूर्तिमा समेत सहज हुने उनको तर्क छ ।
नयाँ मूल्यसूचीअनुसार अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर १५ रुपियाँ ३५ पैसा, मट्टीतेलमा १२ रुपियाँ ८० पैसा, आन्तरिक हवाई इन्धनमा १८ रुपियाँ ६६ पैसा र हवाईकर छुटसहित अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३० रुपियाँ पाँच पैसा नाफा छ । विदेशी बजारमा भएको मूल्य गिरावटकोकारण भएको यो नाफाले नै मासिक नाफा १३ करोड रुपियाँ पुगेको निगमप्रवक्ता ढुंगेलले बताए ।
यससँगै १ जुलाईको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा २६ करोड १० लाख रुपियाँ कुल नाफा छ भने मट्टीतेलमा सात करोड ६८ लाख, आन्तरिक हवाई इन्धनमा पाँच करोड ६० लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा २१ करोड ४ लाख रुपियाँ कुल नाफा रहेको निगमले जनाएको छ । तर, नयाँ मूल्यअनुसार एलपी ग्यास र डिजेलमा भने अझै निगमलाई घाटा रहेको जनाएको छ । १ जुलाईको मूल्यअनुसार डिजेलमा प्रतिलिटर ६४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर तीन सय ५९ रुपियाँ ६३ पैसा घाटा रहेको निगमको दाबी छ । यो मूल्यअनुसार एलपी ग्यासमा कुल घाटा ४३ करोड १६ लाख र डिजेलमा ४ करोड १६ लाख रुपियाँ कुल घाटा छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य गिरावट र आपूर्ति कटौतीले गत महिना भने निगम ७० करोड ४२ लाख रुपियाँ घाटामा थियो । नेपाल आयल निगमका अनुसार आइओसीले १ जुनमा पठाएको मूल्यसूचीअनुसार निगमको मासिक घाटा ७० करोड ४२ लाखमा झरेको थियो भने भारतीय आयल निगमले १६ जुनमा पठाएको मूल्यसूचीअनुसार मासिक घाटा १३ करोड नौ लाख रुपियाँमा सीमित रहेको थियो ।
अघिल्लो महिना अर्थात् १ मेको मूल्यसूचीअनुसार निगमको घाटा एक अर्ब १४ करोड ४७ लाख रुपियाँ थियो । यस्तै, अघिल्लो महिना अर्थात् अप्रिलमा निगमको मासिक घाटा एक अर्ब ५६ करोड रुपियाँ पुगेको थियो ।
साथै, १४ जेठअघि मुलुकमा भएको राजनीतिक उतारचढाव र विभिन्न समूहले गरेको बन्द–हडतालका कारण पेट्रोलियम ढुवानी न्यून मात्रामा भएको र खपतसमेत कम भएकोले निमको मासिक घाटा घट्दै आएको थियो । यद्यपि, बुधबार भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय एक डलर वृद्धि भएको निगमले जनाएको छ । यसले भने निगमको मासिक नाफामा प्रभाव पार्न सक्ने प्रवक्ता ढुंगेलले जनाएका छन् । उनका अनुसार आगामी महिना खरिदमूल्यसमेत बढ्नेछ ।
निगमका अनुसार सामान्य अवस्थामा निगमले एक सय १५ हजार किलोलिटर पेट्रोलियम आयात गर्ने गरेको छ भने दैनिक तीन हजार किलोलिटर पेट्रोलियम खपत हुने गरेको छ । उपत्यकामा भने दैनिक दुई सय ५० किलोलिटर पेट्रोल र तीन सय किलोलिटर डिजेल खपत हुने गरेको छ ।

प्रतिक्रिया