पञ्चेश्वर आयोजनामा दलकै बेवास्ता

काठमाडौं : पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई मुख्य राजनीतिक दलका नेताले नै बेवास्ता गरेका छन् । २७ माघ ०५२ मा नेपाल र भारतबीच सम्झौता भएपछि लामो समयसम्म विवादित सो आयोजना अगाडि बढाउन ९ मंसिर ०६६ मा पञ्चेश्वर विकास प्राधिकरणको गठन गर्ने सहमति भएको थियो । विवाद समाधानका लागि राष्ट्रिय सहमतिको प्रयासस्वरूप आइतबार पञ्चेश्वर आयोजनासम्बन्धी राष्ट्रिय कार्यशालाको आयोजना गरी मुख्य दलका नेतालाई बोलाए पनि उनीहरू अनुपस्थित रहेपछि बेवास्ता गरेको पुष्टि भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रम एवं कांग्रेस नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं राप्रपा नेता लोकेन्द्रबहादुर चन्दलगायत वर्तमान मन्त्रिमण्डलका सबै मन्त्री, नेकपा माओवादीका मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्दका साथै पूर्वमन्त्री भीम रावल, भानुभक्त जोशीलगायतका ३५ नेतालाई बोलाइए पनि तीन मन्त्री बद्री न्यौपाने, यदुवंश झा र केशवमान शाक्य मात्र सहभागी भएका थिए ।
विद्युत् विकास विभागले पहिलोपटक आयोजनामा राष्ट्रिय सहमतिको प्रयास थालेको विकासका महानिर्देशक एवं पञ्चेश्वर बहुउेद्देश्यीय आयोजना प्रमुख डिपी सिंहले बताए । ‘धेरै राजनीति दलका नेता पञ्चेश्वर बनाउने कुरामा सकारात्मक हुनुपर्छ, हामीले पहिलो प्रयास गरेका हौँ तर आएनन्,’ उनले भने । १० वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखे पनि १७ वर्ष पुगिसक्दा पनि आयोजना अघि बढ्न सकेको छैन । आयोजना अघि बढाउने क्रममा कृषिमा १३ दशमलव ८ करोड बराबरको क्षति हुने, २ हजार ९ सय २६ घरधुरी विस्थापित हुने, वायु, ध्वनी, धुलो तथा जल प्रदूषण हुने जस्ता केही समस्या हुने भए पनि आयोजना बनेमा नेपालकै गरिबी निवारणमा ठूलो सहयोग पुग्ने विभागको दाबी छ । (सौस)

 

प्रतिक्रिया