काठमाडौं, २५ असार । माछापुच्छ्ेर बैंकले स्टयान्डर्ड फाइनान्सलाई गाभ्न गत ११ असारमा अन्तिम स्वीकृति प्राप्त गरेपछि सोमबारबाट एकीकृत रूपमा कारोबार सञ्चालन गर्ने भएको छ । विगत १३ वर्षदेखि ‘क’ वर्गको वाणिज्य बैंकका रूपमा सञ्चालित माछापुच्छ्रे बैंक र १७ वर्षदेखि ‘ग’ वर्गको वित्तीय संस्थाका रूपमा सञ्चालित संस्था एक भएपछि संस्थाको चुक्ता पुँजी दुई अर्ब ४७ करोड ८६ लाख रुपियाँ पुगेको छ । एकीकृत संस्थाको जगेडा कोषमा २४ करोड, शाखा संख्या ५४ वटा, निक्षेप २० अर्ब ७४ करोड, कर्जा १६ अर्ब ३५ करोड र एटिएम संख्या ६३ वटा पुगेको छ भने निक्षेपकर्ता तीन लाख ३१ हजार पुगेका छन् ।
मर्जपछि गठित सञ्चालक समितिमा माछापुच्छ्रे बैंकका दुई सर्वसाधारण सञ्चालकसहित पाँचजना र स्टयान्डर्ड फाइनान्सका एक साधारण सञ्चालकसहित तीनजना एवं विशेष सञ्चालक एक गरी नौ सदस्य संलग्न छन् । माछापुच्छ्रेबाट सूर्यबहादुर केसी, प्रकाश केसी, गोपीचन्द्र न्यौपाने, नरेशबहादुर मल्ल र प्राणेश्वर पोखरेल रहेका छन् भने स्टयान्डर्ड फाइनान्सका तर्फबाट ज्ञानप्रसाद कर्माचार्य, डा. वीरेन्द्रप्रसाद महतो, राममान श्रेष्ठ र विज्ञ सदस्यका रूपमा किशोरकुमार शाह रहेका छन् । दुवै संस्थाले दीर्घकालीन व्यापारिक रणनीतिका आधारमा एक विशिष्ट र व्यावसायिक निर्णयका रूपमा मर्जलाई लिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । एकीकृत संस्थामा संस्थापकहरूको ६६ दशमलव ५६ प्रतिशत र सर्वसाधारणको ३३ दशमलव ४४ प्रतिशत सेयर स्वामित्व रहने भएको छ । एकीकृत संस्थामा स्टयान्डर्ड फाइनान्सको १०० कित्ता सेयरलाई ८५ कित्ता र माछापुच्छ्रेको १०० कित्ता सेयरलाई नयाँ संस्थामा पनि १०० कित्ता नै कायम गरिएको छ ।
माछापुच्छ्रेले कोर बैंकिङ सफ्टवेयर टी २४ ‘ग्लोबस’ नामक प्रविधिको प्रयोग गरिरहेको छ । एकीकृत संस्थाको प्रमुख कार्यकारी अधिकृतमा माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृतमा भाइकाजी श्रेष्ठ रहेका छन् भने अध्यक्षमा बैंकका अध्यक्ष सूर्यबहादुर केसी नै छन् । स्टयान्डर्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेश भण्डारीलाई एकीकृत संस्थामा सहायक महाप्रबन्धकको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया