सञ्चारमन्त्री हटाउन अभियान जारी

काठमाडौं, २४ असार । आन्तरिक विवादमा रहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष नन्दन दत्तले मधेसी मोर्चाका नेता तथा उपप्रधानमन्त्री विजय गच्छेदारसँग भेट गरेर सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवलाई पदबाट हटाउन सहयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा आज भएको भेटमा दत्तले सञ्चारमन्त्री यादवलाई पदबाट तत्काल हटाउन गच्छेदारसँग आग्रह गरेका हुन् । भेटमा गच्छेदारले मधेसी मोर्चाको बैठक बसेर यादवलाई मन्त्रीबाट हटाउने वा नहटाउने भन्ने विषयमा ठोस निर्णय गरिने आश्वासन दिएको दत्तले बताए ।
आन्तरिक विवादका कारण पार्टीको बहुमत निर्णयबाट यादवलाई कार्यबाहक अध्यक्षबाट हटाएर दत्त आफै कार्यबाहक अध्यक्षको जिम्मेवारीमा छन् । गणतान्त्रिक फोरमले मन्त्री यादवलाई सरकारबाट फिर्ता समेत बोलाई सकेको छ ।
गच्छेदारसँगको भेटमा उनले यादवलाई मन्त्रीबाट नहटाए मधेसी मोर्चा विरुद्ध समेत आन्दोलन गर्ने चेतावनी दिएका छन् । गच्छेदारसँगको भेटमा कार्यबाहक अध्यक्ष केन्द्रीय सदस्यहरुका साथ पुगेका थिए । गच्छेदारले यस अघि समय अभाव भन्दै गणतान्त्रिक फोरमका कार्यबाहक अध्यक्ष दत्तसँग भेटगर्न मानेका थिएनन् ।
यादवलाई हटाउन दबाव दिन दत्तले एमाओवादी अध्यक्ष पुष्पकम दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईलगायतसँग परामर्श गरिसकेका छन् ।

प्रतिक्रिया