रक्षकनै भक्षक भएपछि…

काठमाडौं, २४ असार । काठमाडौंमा एक महिलालाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा प्रहरीले सशस्त्र प्रहरीका हवल्दारलाई पक्राउ गरेको छ ।
१८ बर्षीया महिलालाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा कालीकोट जिल्ला चिल्खाया घर भएका सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा कार्यरत हवल्दार अम्बरबहादुर शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएका छ ।
३० बर्षीय शाहीले शनिबार दिउसो स्वयम्भुस्थित आनन्दकुटी विहार जंगलमा घुम्न आएकी नुवाकोटकी महिलालाई जवरजस्ती अनुचित कार्य गरेको प्रहरी भनाई छ । प्रहरीको धम्की दिएर शाहीले नुवाकोट जिल्ला बटार घर भई ललितपुर पाटन बस्ने ती महिलालाई जवरजस्ती अनुचित कार्य गरेका हुन् ।
मोरङ घर भई बसुन्धरा बस्ने १७ बर्षीय मितभाई सुदीप कार्की र ३ बर्षीय भतिजासंग उनी स्वयम्भु घुम्न गएको अवस्थामा शाहीले ‘म’ स्वयम्भुको प्रहरी हुँ भन्दै जवरजस्ती गरेका थिए ।
हवल्दार शाहीले महिलाका भाई सुदीपलाई एक घण्टामा १० हजार रुपियाँ ल्याउनु नत्र प्रति घण्टा १० हजारका दरले रकम बढ्ने भनेर धम्की दिई रुपियाँ लिन पठाएर बलात्कार गरेका हुन् । भाई सुदीप रकम लिन गएपछि महिला एक्लै भएको मौकाछोपी सशस्त्रका हवल्दार शाहीले जवरजस्ती अनुचित कार्य गरेका थिए ।
प्रहरीले पीडित महिला र अभियुक्तको स्वास्थ्य परिक्षण गरेर घटनाका सम्बन्धमा छानविन सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया