सेरेना पाँचौँपटक च्याम्पियन

लन्डन, २४ असार । अमेरिकाकी सेरेना विलियम्सले आफ्नै दिदी भेनससँग बराबरी गर्दैै पाँचौँपटक विम्बल्डन टेनिस ग्रान्डस्लामको उपाधि जितेकी छन् । वर्षको यस तेस्रो ग्रान्डस्लामको फाइनलमा शनिबार राति सेरेनाले अग्निएस्का राडावान्स्काविरुद्ध तेस्रो तथा अन्तिम सेटपछि जित हात पार्दै व्यक्तिगत महिला एकल ग्रान्डस्लाम उपाधिसंख्या पनि १४ पुर्‍याइन् ।
विगत दुई वर्षयता यी पूर्वविश्व नम्बर–१ तथा महिला टेनिसकी सदाबहार खेलाडीमध्येकी एक सेरेना ग्रान्डस्लाम उपाधिविहीन थिइन् । पछिल्लोपटक उनले सन् २०१० मा अन्तिम ग्रान्डस्लामका रूपमा विम्बल्डन उपाधि नै हात पारेकी थिइन् ।
सन् २००२, २००३ र २००९ को विम्बल्डन संस्करण पनि सेरेनाको नाममा रहेको थियो । सेरेनाकी दिदी भेनसले पनि पाँचपटक विम्बल्डन उपाधि जितेकी छन् । भेनसले सन् २०००, २००१, २००५, २००७ र २००८ मा विम्बल्डन जितेकी थिइन् । यसपटक भने भेनस पहिलो चरणबाटै बिदा हुनुपरेको थियो ।
सेरेनाले विम्बल्डनबाहेक अस्ट्रेलियन ओपन पनि पाँचपटक जितेकी छन् । त्यस्तै युएस ओपन तीनपटक र फ्रेन्च ओपन एकपटक उनको नाममा छ । सन् २००१ र २००८ मा उनले ओलम्पिकमा पनि महिला एकलतर्फ स्वर्णपदक जितेकी छन् । महिला युगलमा उनले १३ ग्रान्डस्लाम जितेकी छन् । यस सफलताले सेरेनाको अर्को ओलम्पिक स्वर्ण जित्ने अभियान सफल हुने संकेत दिएको छ । चोटका कारण लामो समयदेखि कोर्टमा फर्कन संघर्ष गरिरहेकी ३० वर्षीया सेरेना गत फ्रेन्च ओपनको सुरुआती चरणबाटै बाहिरिएपछि उनको खेलजीवन लगभग किनारा लागेको अनुमान हुन थालेको थियो । उनी पहिलोपटक ग्रान्डस्लामको पहिलो चरणमा गत फ्रेन्च ओपनका रूपमा पराजित भएकी थिइन् ।
राड्वान्स्काविरुद्ध सेरेनालाई जित हात पार्न सजिलो भने भएन । पहिलो सेट ६–१ ले जितेकी सेरेनाले दोस्रो ७–५ ले गुमाएपछि खेलले निर्णयका लागि तेस्रो तथा अन्तिम सेट पनि कुर्नुपरेको थियो । दोस्रो सेटबाट लय समाएकी राड्वान्स्काले तेस्रोमा पनि सानदार सुरुआत गरे पनि त्यसलाई सम्हाल्न सकिनन् र उक्त सेट ६–२ ले जितेर सेरेनाले टेनिसमा पुन: पुनरागमन गरिन् । यसक्रममा सेरेनाले अन्तिम पाँच ‘गेम’ लगातार जितेकी थिइन् । तेस्रो सेटमा राड्वान्स्काले दुईपटक अग्रता लिइन् तर सेरेनाले उक्त सेटलाई २–२ को स्थितिमा ल्याइपुर्‍याएर त्यसपछि भने आफै एकोहोरो अगाडि बढिरहिन् ।
३० वर्षभन्दा बढी उमेरका खेलाडीका रूपमा विम्बल्डन जित्ने सेरेना सन् १९९० पछिकी पहिलो महिला खेलाडी भइन् । पछिल्लोपटक मार्टिना नाभ्रातिलोभाले ३३ वर्षको उमेरमा यो उपलब्धि हात पारेकी थिइन् । हारसँगै २३ वर्षीया राडवान्स्का ७३ वर्षपछि पनि पोल्यान्डलाई ग्रान्डस्लाम उपाधि दिलाउन असफल रहिन् । फाइनल पुग्ने क्रममा सेरेनाले भिक्टोरिया अजारेन्काको चुनौती पाखा लगाएकी थिइन् । एजेन्सी

प्रतिक्रिया