९०औ अन्तर्राष्ट्रिय सहकारी दिवस सहकारी नीति बनाउने गृहकार्य सुरु

काठमाडौं, २४ असार । सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले सहकारी संघ/संस्थालाई व्यवस्थित गर्न सहकारी नीति बनाउने गृहकार्य सुरु भइसकेको बताएका छन् ।

सहकारीमा समस्या बढ्दै गएको भन्दै उनले त्यसलाई नियन्त्रण गर्न सहकारी नीति बनाउन लागेको प्रस्ट पारे । राष्ट्रिय सहकारी संघद्वारा आयोजित ९०आँै अन्तर्राष्ट्रिय सहकारी दिवस, १८औँ संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा १९औँ राष्ट्रिय सहकारी संघ दिवसको अवसरमा मन्त्री ढकालले सो कुरा बताएका हुन् ।
‘आर्थिक रूपमा सबल र सामाजिक तवरले जिम्मेवार बनाउनका लागि सहकारीलाई अघि बढाउनु पर्छ,’ मन्त्री ढकालले भने, ‘दिगो विकास र सामाजिक एकीकरणका लागि सहकारी अपरिहार्य हो ।’ श्रमशक्ति रोकी आर्थिक तथा सामाजिक विकास गर्न सहकारीको भूमिका उल्लेख्य रहेकामा पनि उनले जोड दिए । आर्थिक समृद्धिको आधार सहकारी रहेको भन्दै उनले गरिबी न्यूनीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने जिकिर गरे ।
सो अवसरमा सहकारीबाट गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने कुरामा सबैले सोच्नु पर्ने नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बताए । सहकारीले वित्तीय कारोबार गर्नु मात्रै कुनै अर्थ नभएको बताउँदै उनले उत्पादन र प्रशोधनमा ध्यान दिनुपर्ने आवश्यकता आँैल्याए । ‘सहकारीले कृषिमार्फत ग्रामीण विकास गर्नुपर्छ,’ गभर्नर खतिवडाले भने, ‘समुदाय सहभागी नहुँदासम्म समावेशी अर्थतन्त्रको पाटो अघि बढ्दैन ।’ सहकारीमार्फत नै आर्थिक समन्वयको आधार तयार गर्नुपर्ने उनको धारणा थियो ।
सहकारी मन्त्रालयका सचिव केशव भट्टराईले सरकारले सहकारीका माध्यमबाट आर्थिक विकासलाई अगाडि बढाउन चाहेकाले नै सहकारी मन्त्रालय गठन गरेको बताए । ‘सहकारीमा विकृति बढेको छ,’ उनले भने, ‘ती विकृतिलाई हटाउनु मन्त्रालयको चुनौती हो ।’ समृद्ध समाज निर्माणमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष मीनराज कंडलेले ‘बचत तथा ऋण ऐन’ आवश्यक रहेको बताए । ६५ प्रतिशतभन्दा बढी वित्तीय कारोबार बचत तथा ऋण सहकारीले गरेकाले यसका लागि छुट्टै नीति आवश्यक रहेको धारणा राखे ।
स्थानीयस्तरमा आर्थिक उपार्जनको महत्त्वपूर्ण माध्यम सहकारी भएको उल्लेख गर्दै यस क्षेत्रमा सरकारले सहयोग गर्नुपर्ने राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालको भनाइ थियो । सहकारीबाट बेरोजगारी घटेको उल्लेख गर्दै उनले सहकारीबाट ५० हजारभन्दा बढीले रोजगारी पाएको बताए । ‘अबको समयमा उत्पादानमूलक सहकारीलाई बढवा दिनुपर्छ,’ बडालले भने, ‘आगामी बजेटमा सहकारीले उच्च स्थान पाउनुपर्छ ।’ राष्ट्रिय संघका लागि पनि बजेट विनियोजन गरिनु पर्ने उनको तर्क थियो ।
कार्यक्रममा सगरमाथामा सहकारीको झन्डा फहराउने सहकारीकर्मी शिवकुमार डाँगी, उत्कृष्ट सहकारी बछौली सहकारी, नारी चेतना, जुम्मा सहकारी संघलगायतका सहकारीलाई सम्मान तथा कम्प्युटर हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया