सर्वोच्च बारमा प्रजातान्त्रिक प्यानलको बर्चस्व

काठमाडौं, २४ असार । सर्वोच्च अदालत बार एसोसिएसन चुनावमा प्रजातान्त्रिक प्यानलको बर्चस्व कायम भएको छ । शनिबार भएको चुनावमा प्रजातान्त्रिक प्यानलबाट अध्यक्षसहित चार पदाधिकारी र ६ सदस्य पदमा विजयी भएका छन् भने प्रगतिशील पक्षका तीन सदस्य मात्र निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत सुरेन्द्रप्रसाद सिंहका अनुसार अध्यक्षमा रामप्रसाद गौडेल, उपाध्यक्षमा अरविन्दकुमार सिंह, सचिवमा एगराज पोखरेल र कोषाध्यक्षमा राजकुमार थापा विजयी भएका छन् । अध्यक्षमा गौडेलले खसेको कुल ४ सय ९९ मतमध्ये २ सय ५२, उनका प्रतिद्वन्द्वी प्रगतिशील प्यानलका महेन्द्रकान्त मैनालीले २ सय ४७ मत ल्याएका थिए । त्यसैगरी, उपाध्यक्षमा सिंहले २ सय ४२, सचिवमा पोखरेलले २ सय ६४ र कोषाध्यक्षमा थापाले २ सय ५२ मत पाएका थिए । उपाध्यक्षमा प्रगतिशील पक्षका केदार गौतमले २ सय ३४, सचिवमा ज्योति बानियाँले १ सय ८६, प्रेमसिंह धामीले ४१ र कोषाध्यक्षमा विश्वम्भर कृष्ण पराजुलीले २ सय ३९ मत पाए ।
एमाले र एमाओवादी पक्षधरको प्रगतिशील गठबन्धन र नेपाली कांग्रेस, मधेसी तथा राप्रपानिकटका कानुन व्यवसायीको प्रजातान्त्रिक गठबन्धनबीच चुनावमा प्रतिस्पर्धा भएको थियो । नेकपा–माओवादीनिकट कानुन व्यवसायीले प्रजातान्त्रिक गठबन्धनलाई सहयोग गरे पनि आºनोतर्फबाट उम्मेदवार बनाएका धामी पराजित भएका छन् ।
त्यसैगरी, सदस्यमा प्रजातान्त्रिक गठबन्धनबाट डा. विजयसिंह सिजापति, सुभद्रा उप्रेती सिटौला, महेन्द्रबहादुर श्रेष्ठ, रामबन्धु शर्मा, धर्मराज रेग्मी र ऋषिराम घिमिरे तथा प्रगतिशील गठबन्धनबाट मुकुन्दप्रसाद पौडेल, पुण्यप्रसाद दंगाल र सदीप खरेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया