तमलोपा अध्यक्ष हिरासतमा

राजविराज : तराई–मधेस लोकतान्त्रिक पार्टीका सप्तरी अध्यक्ष रामपृत यादवलाई प्रहरीले पक्राउ गरेको छ । सिम्रहा सिंगियौन–२ निवासी यादवलाई झैझडा गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिम्रहा सिंगियौनमा राति ८ बजेतिर वडा नम्बर २, ३ र ४ का स्थानीयवासीका बीचमा झडप भएर घटना साम्य हुन नसकेपछि यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । गाउँलेबीच पटकपटक भएको झडपमा वडा नम्बर ३ का उत्तिमलाल यादवसहित केही घाइतेसमेत भएका थिए ।
प्रहरी चौकी पथ्थरगडाका सइ श्याम थापाका अनुसार गाउँलेबीच भएको विवादमा यादवको पनि संलग्नता रहेको पाइएकाले नियन्त्रणमा लिइएको हो । यादव स २ प ५६६८ नम्बरको मोटरसाइकलमा घर जाने क्रममा प्रहरी नियन्त्रणमा परेका हुन् यद्यपि उनले झडपबारे आफूलाई केही थाहा नभएको दाबी गरेका छन् ।
घटनामा नेकपा–माओवादी र नेपाली कांग्रेसका कार्यकर्ता मिलेर आफ्ना पार्टीका कार्यकर्तामाथि आक्रमण भएको यादवले बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनापछि आएको उजुरीका आधारमा यादवलाई नियन्त्रणमा लिइएको जनाएको छ । एसपी गणेशबहादुर थापाका अनुसार यादवलाई सोधपुछका लागि नियन्त्रणमा राखिएको हो । (सौस)

प्रतिक्रिया