राउटेद्वारा जंगल माग

सल्यान : जंगल नभए आफूहरू समाप्त हुने भन्दै लोपोन्मुख राउटेले आफूले चाहेअनुसारका रूख काट्न पाउनुपर्ने माग राखेका छन् । जिल्ला विकास समिति, सल्यानले आयोजना गरेको राहत वितरण कार्यक्रममा राउटेका मुखिया मैनबहादुर शाहीले रूख काट्न नपाएपछि आफ्ना जनता भोकभोकै पर्न थालेको भन्दै सिडिओ मुरारीप्रसाद शर्मासँग रूख काट्ने वातावरण मिलाइदिन आग्रह गरे ।
राहत बुझ्न आएका मुखिया मैनबहादुरलगायत ४० भन्दा बढी राउटेले सामुदायिक वनले आफूहरूलाई रूख काट्न नदिएपछि पेसा संकटमा परेको भन्दै चाहेअनुसारको रूख काट्न पाउनुपर्ने माग राखेका थिए । ‘पुर्खादेखि गरिआएको पेसा रूख काट्न नपाएपछि संकटमा पर्न थाल्यो, सामुदायिक वनलाई भन्दिनुपर्‍यो,’ राउटेका मुखिया शाहीले सिडिओ शर्मालाई भने, ‘रूख काट्न नदिएपछि हाम्रो जनता भोकै मर्ने भए ।’
यस्तै, अर्का राउटे वीरबहादुर शाहीले जंगलमा रूख काट्न नदिएपछि मागेर काम चलाउनुपरेको गुनासो गरे । ‘सीप बेचेर जनता पाल्थ्यौँ, रूख काट्न दिँदैनन्, नमागेर कसरी बाँच्ने ?’ उनी प्रश्न गर्छन् । आफूहरूले थोरै बनाएका काठका भाँडा बिक्री नभएकाले पनि समस्या भएको उनीहरूको गुनासो छ ।
सिडिओ शर्माले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । ‘सरकारले लोपोन्मुख जातजातिको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्छ, यसका लागि सबैको साझा पहल आवश्यक छ,’ उनले भने ।
कार्यक्रममा जिल्ला विकास समितिको लक्षित वर्गको बजेटबाट राउटेलाई खाद्यान्न तथा नगद वितरण गरिएको थियो । धनवाङ गाविस–८ गाँडापानीमा बस्दै आएका राउटेलाई सिडिओ शर्माले २२ क्विन्टल चामल राहतस्वरूप वितरण गरेका थिए ।
सिमसिम पानीमा भिज्दै राहत बुझ्न आएका राउटे राहत बुझेपछि खुसी भएका थिए । राहत बुझ्न राउटेका मैनबहादुर शाही, वीरबहादुर र हरिबहादुर शाहीलगायतका ४० भन्दा बढी राउटे धनवाङको गाँडापानीबाट कपुरकोट आएका थिए । कपुरकोटमा आएका राउटे हेर्न सर्वसाधारणको भिड लागेको थियो । (रासस)

प्रतिक्रिया