जिल्ला जिल्लाका विम्बहरू

सम्पादकले कुकुर कतै भेटेनन् ।
वागबजारदेखि बिरालो बस्तीसम्म, सिंहदरबारदेखि गौंथलीको गुँडसम्म कति खोजेँ कति । बरु, छ महिनादेखि मिस्कलबाट व्यापक खोजी भइरहेको जिल्ला संवाददाता त्रिभुवन विमानस्थलबाट बाहिर आइरहेको भेटियो । उसले सम्पादकलाई भेट्नेबित्तिकै भन्यो, ‘दाइ † समाचार छापेको पैसा होला नि, मोबाइलमा रिचार्ज कार्ड हाल्न पाए हुन्थ्यो ।’
सम्पादकले रिपोर्टरका मुखमा ट्वाँ परेर हेरेँ । फेरि सोधँे, ‘घाँटीमा घन्टी झुन्ड्याएको, पुच्छर कालो, जिऊ सेतो, टाउको रातो भएको कुकुर देख्यौ, कुकुर ?’
प्रश्नको अन्तिम शब्द ‘…कुकुर देख्यौ, कुकुर ?’ आफूलाई भनेको हो कि खोजिरहेको कुकुरलाई रिपोर्टरले छुट्याउन सकेन । सम्पादक पनि सधंै दोहोरो अर्थ लाग्नेगरी मात्र लेख्छन् । खोइ, के हो के हो † त्यत्ति नै बेला एउटाले एयरपोर्टतिर छिर्नलागेको ल्यान्ड क्रुजर रोकेर करायो, ‘ओ सम्पादकज्यू † कहाँ हराउनुभयो भनेको ? बजारमा पत्रिका आएन नि, एडभान्स लिएपछि विज्ञापन छाप्नु पर्दैन ?’
‘ओहो, नमस्ते …†’ जवाफ नफर्काउँदै ट्राफिक प्रहरीको सिरुीले गाडी भागेपछि आफैंसँग भनेँ, ‘मोराको पाँचसय फिर्ता नै गर्नुपर्ला ।’
रिपोर्टरले बुझ्यो, हराएको कुकुर भेट्नेलाई नगद पुरस्कारको विज्ञापन छाप्न एडभान्स लिएका सम्पादक त पत्रिकै बन्द गरेर आफैँ कुकुर खोज्न पो हिँडेछन् ।
हराएको त रिपोर्टर थियो, छ महिनादेखि । किन समाचार नपठाएको भनेर जति मिसकल गर्दा पनि कलब्याक नगर्ने हुम्ला रिपोर्टर अमेरिकामा १२ लाखमा यार्चागुम्बा बेचेर फर्कँदै रहेछ । उनका दुई छोरा ६०/६० लाख खर्चमा एमबिबिएस पढिरहेका छन् ।
हुम्लामा उनी मलाई आफ्नो अघिल्लोपटकको काठमाडौं कथा सुनाउँदै थिए– एउटा टिभीमा पनि काम गर्छु । तर, पैसै दिँदैनन् । पत्रिकामा चाहिँ पैसा नदिए पनि माया गर्छन् । टिभीमा त बोसहरूलाई भेट्न पनि नपाउने पैसा पनि… । उनी वर्षमा १२ देखि २० लाखसम्मको यार्चागुम्बा बेच्दारहेछन् ।
मुगुमा मसँगै थिए संयुक्त राष्ट्रसंघीय महासचिवका प्रतिनिधि भएर अफगानिस्तानमा काम गरिसकेका डा. सोम पुडासैनी जो कार्यकाल बाँकी छँदै नेपाल आएका थिए । उनी सोध्दै थिए, किन बाटोमा दिसा गर्नुभएको तपाईंले, चर्पी छैन भने खेतमै गर्दा पनि मल हुन्थ्यो नि बरु ? किशोरवयमै प्रौढ देखिने ४४ वर्ष पुरुष र ४० वर्ष महिलाको औसत आयु भएका मुगालीहरूको जवाफमा विद्रोह थियो, ‘किन हाम्रो खेतमा हग्ने ? सरकारको बाटोमा हगिदिन्छौँ, उसले हाम्रा लागि के गरेको छ र ?’ तर, डा. पुडासैनीको असन्तुष्टि अर्कै थियो– नेपालका मन्त्री, प्रधानमन्त्री राष्ट्रसंघका प्रतिनिधिलाई खोज्दै हिँड्छन् भेट पाउनलाई । तर, त्यही पदको म नि:शुल्क सल्लाह दिउँलाभन्दा पनि पत्याउँदैनन् बा † सायद नेपाली नै भएर होला ।
जापानबाट हरुहुतो नोजू नेपाल आए, नेपाली लोक साहित्यमा अध्ययन गर्न । काठमाडौंमा स्कुल, कलेज जाँदै गरेकाहरू देखे – केटासँग केटामात्र, केटीसँग केटी मात्र हिँडिरहेका छन्, त्यो पनि हातै समाएर अँगालो मारेर † छक्कै परे नेपाल एउटा विकासशील मुलुक तर यति धेरै समलिंगी ?
१२ बजे भेट भए पनि चिया–खाना खानुभयो भनेर सोध्ने † खानै खान नपाएर भौँतारिरहेजस्तो । अझ कतिले त के खानुभयो त भनेर निजी कुरामा चासो लिने † कति असभ्य ? यस्तो लाग्थ्यो उनलाई पहिला पहिला । तर, हिजोआज कसैले सोधेन भनेचाहिँ उनको मन खिन्न हुन्छ ।
गमगढीबाट रारातिर । पैदल बाटो । एउटा सानो साँघु । एकपटकमा दुईजनाले पार गर्न नमिल्ने । मोबाइलबाट रेडियो सुन्दै मुस्किलले साँघु तर्दै गर्दा रेडियोमा सरकारी सूचना आयो– कृपया बाटो काट्दा जेब्रा क्रसबाट काट्नु होला । हरुहुतो हाँस्छन् । हाम्रो विविधता †
सिन्धुपाल्चोकको समायोजन बहसमा एकजना वृद्धले भने बाबु † हाम्रा ठाउँका रेवतीरमण न्यौपानेले बुद्धिविनोदको पाण्डुलिपि भीम शमशेरलाई छपाउन दिएका थिए । पछि लेखनाथ पौड्यालका नाममा छापियो । पुस्तक जस्तातस्तै लेखकको नाम मात्र संशोधन । संविधानमा त्यस्तो गर्न नपाइने लेख्न मिल्दैन ? लाग्यो– हामीे इतिहास खोज्न किन गाउँ जादैनौँ ?
नाम पृथ्वीनारायण तर लगानीकर्ता साउथ इन्डियन । सन् १९६० सेप्टेम्बर १ मै उनले सम्पूर्ण सम्पत्ति खन्याएको पृथ्वीनारायण क्याम्पस पोखरा । सबैभन्दा बढी विद्यार्थी भएको क्याम्पस । तर, जोनले जीवनभर मानको खातिर मान पनि पाएनन् । अप्ठेरोमा पर्दा कसैले हेरेनन् । हेर्न मन लागेन फेवा पनि ।
काठमाडौं फर्किएँ । कुरिनटारपश्चिम बायाँतर्फ सडकछेउ भिरमा एउटा सानो मन्दिर छ । त्यसको भित्तामा वेगसँग गुडिरहेको गाडीबाटै लेखिएको देखिन्छ– ईश्वर दाहिना परून् । देख्नेबित्तिकै तर्सन्छु । मन्दिरलाई दाहिना पारेर गाडी जाने होभने सिधै नदीमा नखसी सम्भवै छैन । त्यो मन्दिरको भित्ताले सरापेजस्तो लाग्छ । बरु देबै्र भएको राम्रो ।
‘हो, देब्रे अल्पसंख्यक समुदायमा पर्छन्, के थाह छ काठमाडौं बस्ने संविधानविद्हरूलाई ?’ मुस्ताङका एक नवप्रौढ कराए, ‘सुन्नुस् † एसएलसीको केन्द्र परेको स्कुलमा आर्म चेयर रहेछ । कुर्सीमै कपी राखेर लेख्नुपर्ने । सबै दाहिनेतिर मात्र । तर, म देब्रेहाते मान्छे । लेख्नै सकिनँ । थोरै नम्बर आयो अनि राजनीतिमा लागेँ ।’ उनको विचारमा देब्रे हातेहरू अल्पसंख्यक भएकाले उनीहरूलाई पनि आरक्षण र विशेष व्यवस्था हुनुपर्छ । म दंग परेँ संविधानका मुद्दा कहाँ कहाँ रहेछन् । संखुवासभाको शुभकामना होटेल । चन्द्र कार्की सञ्चालक । उनी रातभरि रुद्राक्षको बोटमुनि सुत्छन्, कसैले टिप्ला भनेर । एक दाना रुद्राक्ष तीनचार लाखदेखि ३२ लाखसम्ममा बेच्छन् । विश्वका प्रसिद्ध व्यापारी धाउँछन् । रूखमै दाना हेरेर यति मुखे हुनसक्छ भनेर दाम छिन्छन् ।
एउटाले साफ पिटाइ खाएछ, दिउँसै रुद्राक्षको बोटमा हेरेको आरोपमा । पाँच सय जरिबाना तिराए भद्र भलादमीले । हरेक वर्ष करोडौँको व्यापार हुन्छ । नियमकानुन नभए पनि स्वेच्छाले कर तिर्न जिल्ला विकास समितिले आग्रह गरेपछि गत वर्ष मात्र ६३ हजार कर उठेछ ।
बैतडीदेखि बाजुरासम्म लोठ सल्लाको पात सोत्तर बनाउँछन् किसानले । थाहा पाउनेले १२ रुपियाँ प्रतिकेजी बेच्छन् । त्यसैको पातबाट इन्डियनले क्यान्सरको औषधि बनाएर प्रतिभायल २३ लाख अमेरिकी डलरमा बेच्छन् । प्रशोधन र संकलन गर्न हामीसँग नभएको प्रशोधन मेसिन चाहिन्छ रे कानुनले त्यसो भनेर भारतीयलाई संकलन गर्न दिएको रे † हामी हेरेको हेऱ्यै ।
काठमाडौंमा फेरि भिआइपीसँग बुझ्न निस्किएँ । मदन भण्डारी मार्गतिर लागेँ, त्यो त सोझै जाँड खाने सोल्टी होटेलतिर छिर्‍यो । गणेशमान पथतर्फ हिडेँ फेरि त्यो पनि एभरेस्ट होटेलतिर पस्यो । भेटिनँ भिआइपीहरूलाई । केवल भिआइपी म: म: ताहाचल क्याम्पस जानेतिर बोर्डमा देखेँ । लाग्यो, बफेलोको म: म: भनेको बफ् म: म: र भिआइपीको म: म: भिआइपी म: म: । साह्रै रिस उठिरहेको थियो तिनीहरूसँग तिनकै म: म: एक प्लेट खाएँ । सम्भावना बोकेका धेरै जिल्लाहरू सम्झँदै सम्झँदै म फर्किएँ मोहियानी हक नलागेको फ्ल्याटतिर…।

प्रतिक्रिया