निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं, २३ असार । निर्वाचन आयोगले प्रधानमन्त्री डा. बाबुराम भट्टराईका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको छ । संविधानसभाको नयाँ चुनाव घोषणा गरेको सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी आयोगमा परिरहेका बेला आयोगले प्रधानमन्त्री डा. भट्टराईका साथै सरकारका उच्च अधिकारीहरूलाई सोमबारका लागि आयोगमा बोलाएको हो ।
आयोगले आचारसंहिता उल्लंघनका साथै नयाँ चुनावको तयारीका विषयमा सरकारसँग जानकारी लिन प्रधानमन्त्रीसहित उच्च अधिकारीहरूलाई बोलाएको हो । उनीहरूलाई बिहान ११ बजे आयोग कार्यालयमा बोलाइएको छ । प्रधानमन्त्रीसहित सरकारका उच्च अधिकारीसँग चुनावका लागि आवश्यक ऐन र कानुनका विषयमा पनि छलफल हुने आयोगले जनाएको छ ।
त्यस्तै, आयोगले मंगलबारका लागि राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि आयोग कार्यालयमै बोलाएको छ । उनीहरूसँग नयाँ चुनाव, त्यसका लागि आवश्यक पर्ने कानुन, आचारसंहिता उल्लंघनका विषयमा छलफल गरिने भएको छ ।
‘आचारसंहिताको पालना, चुनावको तयारी र चुनाव गराउनका लागि आयोगलाई आवश्यक पर्ने कानुनका विषयमा छलफल गर्न सरकार र राजनीतिक दलका नेताहरूलाई आयोगले बोलाएको छ,’ आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले भने, ‘हामीले छलफलका लागि बोलाएका छौँ, उहाँहरू आउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’ आयोगले ७ साउनभित्र चुनावका लागि आवश्यक पर्ने सबै ऐन तथा कानुन तयार नभए ७ मंसिरमा चुनाव गराउन नसक्ने जानकारी सरकारलाई गराइसकेको छ ।

प्रतिक्रिया