पश्चिमसेती अघि बढेन

काठमाडौं : ऊर्जा मन्त्रालयले बहुचर्चित पश्चिमसेती जलाशययुक्त विद्युत् आयोजना अघिबढ्न नसकेकामा असन्तुष्टि जनाएको छ ।
बिहीबार नेपाल विद्यावारिधी संघले राजधानीमा आयोजना गरेको नेपालमा जलविद्युत् अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै ऊर्जा सचिव हरिराम कोइरालाले असन्तुष्टि जनाएका हुन् । उनले पहिला ऊर्जा मन्त्रालयमार्फत समझदारी अघि बढाएको पश्चिम सेती पछि लगानी बोर्डमार्फत अघि बढाए पनि त्यसले प्रगति हासिल गर्न नसकेको   बताए । ‘पश्चिम सेतीलाई बोर्डले अगाडि बढाउन सकेको छैन, प्रगति हासिल गरेको पनि देखिएको छैन,’ उनले भने । जलाशययुक्त आयोजना विकासविना लोडसेडिङ अन्त्य गर्नु असम्भव भएको बताउँदै निर्माण गरिएको आयोजना विकास सम्झौता (पिडिए) लागू गर्न ६ कानुनी अवरोध रहेको बताए ।
पश्चिम सेतीबारे संसद्को प्राकृतिक स्रोतसाधन समितिले राम्रो सल्लाह सुझाव दिए पनि अहिले अघि बढ्न नसकेको बताउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले राजनीतिक गलत संस्कार तथा सम्बन्धित निकायको इच्छाशक्ति र सामथ्र्यका अभावमा जलविद्युत् क्षेत्रको विकास हुन नसकेको बताए ।
कार्यपत्र प्रस्तुत गर्दै चिलिमे जलविद्युत् कम्पनीका प्रबन्धक कुलमान घिसिङले क्यु २० मा जलविद्युत् आयोजना बनाउँदा नेपालमा दुई लाख मेगावाट विद्युत् बन्नसक्ने सम्भावना रहेको बताए । (सौस)

प्रतिक्रिया