बहुमत जुटाउन यादव पक्षको दौडधुप

काठमाडौं, २२ असार । मधेसी जनअधिकार फोरम गणतान्त्रिकमा राजकिशोर यादवलाई हटाई नन्दनकुमार दत्त कार्यवाहक अध्यक्ष बनेपछि विवाद चुलिएको छ । २२ सदस्यीय केन्द्रीय समितिमा दत्त पक्षधरले बहुमत देखाएपछि यादव पक्ष दत्तको बहुमत फोड्न लागिपरेको छ । केन्द्रीय समितिमा १२ जना दत्त र १० सदस्य यादव पक्षमा छन् ।
अब दुई दिनपछि यादव पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमार्फत बहुमत देखाउन यादव पक्षका नेता लागिपरेका हुन् । यादव पक्षमा बिपी यादव, राजलाल यादव, चन्द्रिका यादव, अकबाल अहमद साहलगायत नेता छन् ।
‘दुई दिनपछि हाम्रो पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । उक्त बैठकपछि तपाईंहरूले कुन पक्ष बहुमतमा रहेछ भन्ने थाहा पाउनुहुनेछ,’ यादवले सौर्यसँग भने, ‘अहिले एक/दुईजना कराएर केही हँुदैन, त्यो पछि थाहा हुने कुरा हो ।’
सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका यादवले आºनो राजीनामा माग्नुको कुनै औचित्य नरहेको तर्कसमेत गरे ।
दत्त पक्षधर नेताहरूले भने यादवलाई मन्त्री पदबाट बर्खास्त गर्न लबिङ सुरु गरेका छन् । उनीहरूले बिहीबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका शीर्षस्थ नेताहरूलाई भेटी सञ्चारमन्त्री यादवलाई तत्काल हटाउनका लागि सहयोग गर्न हारगुहार गरेका छन् ।
‘हाम्रो पार्टीले गरेको निर्णय कार्यान्वयन गराउन हामीले मोर्चाका नेतालाई भेटेर आग्रह गरेका छौँ । उहाँहरूले एक/दुई दिनभित्र कार्यान्वयन गर्छौं भन्नुभएको छ,’ दत्तले भने, ‘राजकिशोर यादव सञ्चारमन्त्रीबाट नहटी सुखै छ । उहाँले पार्टीले गरेको निर्णय मान्नुपर्छ ।’
सुरिता साहले आफूहरू बहुमतमा भएको बताउँदै बहुमतको निर्णयबाट यादवलाई मन्त्री पदबाट हटाउने निर्णय गरिएको जानकारी दिइन् । ‘हामी स्पष्ट बहुमतमा छौँ । उहाँले बहुमतले गरेको निर्णय मान्दै मन्त्री पदबाट तत्काल हट्नुपर्छ,’ साह भन्छिन्, ‘नहटे हामी संघर्ष थाल्छाँै ।’
दत्त पक्षले बुधबार प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई भेटेर यादवलाई मन्त्री पदबाट हटाउन माग गरेको थियो ।

प्रतिक्रिया