बूढीगंगामा लगानी गर्न कुवेत फन्ड सहमत

काठमाडौं, २१ असार । बूढीगंगा जलविद्युत् आयोजनाको निर्माण अघिबढाउन कुवेत फन्ड ऋण लगानी गर्न सहमत भएको छ । सहमतिअनुसार ६ वर्षभित्र आयोजना निर्माण पूरा हुने भएको छ ।
सरकारको अनुरोधमा लगानी गर्न इच्छुक रहेको फन्डले बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आयोजनाका लागि ऋण सहयोग गर्न सहमति जनाएको हो । फन्डका कानुनी सल्लाहकार नवाफ अलमाहामेलले आयोजनाका लागि एक करोड ८० लाख डलर आर्थिक ऋण लगानीका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ‘बूढीगंगामा ऋण लगानी गर्नका लागि फन्डले सहमति जनाएको छ, अब प्रक्रिया अघि बढछ्,’ विद्युत् विकास विभागका महानिर्देशक डिपी सिंहले भने ।
सहमतिअनुसार १ मार्च ०१३ मा फन्डले आयोजनाका लागि पहिलो किस्ता रकम उपलब्ध गराउनेछ । सिंहका अनुसार दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन (डिपिआर) र त्यसपछि चार वर्षअवधिमा आयोजना निर्माण पूरा भइसक्ने छ । फन्डले सहमति दिएपछि त्यसलाई मन्त्रिपरिषद्बाट पारित गरेपछि उक्त प्रस्ताव फन्डलाई पठाउने तथा त्यसपछि अर्थ मन्त्रालय र फन्डबीच आयोजना निर्माणका लागि हस्ताक्षर हुनेछ ।
सन् १९९८ मा सम्भाव्यता अध्ययन गरिएको आयोजनाका लागि सन् ०११ को अध्ययनले करिब ५४ मिलियन डलर लाग्नेछ । आयोजनाका लागि साउदी फन्डले २० मिलियन डलर सहयोग गर्न इच्छा देखाएको छ । उनीहरूसँग समेत सरकारले छलफल अगाडि बढाई आयोजन लगानीका लागि वातावरण बनाउने लक्ष्य सरकारको छ । बाँकी १६ मिलियन डलर भने सरकारले बेहोर्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।
आठ महिनाअघि सरकारले बुढीगंगा आयोजना बनाउनका लागि कुबेत फन्डसँग प्रस्ताव गरेको थियो । प्रस्तावप्रति सकरात्मक रहेको कुबेत फन्डको टोली १० दिनअघि नवाफको नेतृत्वमा नेपाल आएको थियो । टोलीले आयोजनास्थल अछामको अवलोकन गर्नुका साथै ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय, विद्युत् विकास विभागमा प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलपछि आयोजना अघिबढाउनका लागि कुवेत फन्ड सहमत बनेको हो ।
विद्युत् विकास विभागमार्फत जलविद्युत् आयोजना निर्माण गर्न लागिएको यो पहिला हो । यसअघि अनुमतिपत्रमा बढी सक्रिय विभागले विद्युत् उत्पादनमा हात हालेको थिएन । ‘विद्युत् विकास विभागले विद्युत् उत्पादनका लागि अघि बढ्न लागेको यो नै पहिलो योजना हो,’ विभागका महानिर्देशक सिंहले थपे, ‘पहिलो आयोजनालाई कोशेढुंगा सावित गर्नका लागि हामी सक्रियताका साथ लाग्नेछौँ ।’
२० मेगावाटको बुढीगंगा आयोजनासँग विभागले आयोजना निर्माणसमेत सुरु गर्ने भएको छ । ऊर्जा मन्त्रालयले विभागको पुन:संरचना गर्ने क्रममा विभागले जलविद्युत् आयोजना निर्माणलाई अघि बढाउने उल्लेख छ । पहिला नेपाल विद्युत् प्राधिकरणले आयोजनाको उत्पादनलाई अघि बढाइरहेका बेलामा विभागले समेत आयोजना निर्माणको सुरुवात गर्न लागेको हो । यसअघि विद्युत् विभाग मात्र हुँदा भने जलविद्युत् उत्पादनलाई अघि बढाएको थियो ।

प्रतिक्रिया