सुदूरपश्चिममा खाद्यसंकट

कैलाली, २१ असार । समयमा खाद्यान्न ढुवानी हुन नसक्दा यस वर्ष सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न अभाव हुने भएको छ । यसअघि ढुवानी गरिएको खाद्यान्न सकिए पनि थप खाद्यान्न ढुवानी हुन नसक्दा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न संकट हुने अवस्था सृजना भएको हो । हरेक वर्ष खाद्यान्न अभावका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा भोकमरी हुने गरेको छ ।

केही महिनाअगाडि ढुवानी गरिएको मौज्दात चामल सकिन थालेको सुदूरपश्चिम क्षेत्रीय खाद्य संस्थान धनगढीले बताएको छ । मौज्दात चामल सकिन थालेको भए पनि वर्षात्का कारण थप चामल ढुवानी गर्न सकिने अवस्था नरहेको संस्थानका कर्मचारीहरूले बताएका छन् । हाल पहाडी जिल्लामध्ये अछाममा दुई सय ७० क्विन्टल, बाजुराको कोल्टी डिपोमा एक हजार पाँच सय र मार्तडी डिपोमा एक सय १४ क्विन्टल चामल मौज्दात रहेको छ । त्यस्तै बझाङमा एक हजार आठ सय क्विन्टल मात्र मौज्दात रहेको क्षेत्रीय खाद्य संस्थान धनगढीले जनाएको छ ।
त्यसैगरी दार्चुलाको पारिबगर डिपोमा दुई सय २० क्विन्टल, खण्डेश्वरी डिपोमा दुई सय क्विन्टल र सुनसेरा डिपोमा एक सय २० क्विन्टल चामल मात्र मौज्दात रहेको छ भने बैतडीको पुर्चुडेहाट डिपोमा तीन सय ६० क्विन्टल मात्र मौज्दात रहेको छ । उल्लिखित जिल्लामा मौज्दात रहेको चामल एक महिनामै सिद्धिने भएकोले साउनको दोस्रो साताबाट खाद्यान्नको अभाव हुने जिल्लास्थित खाद्य संस्थानले जनाएको छ । हाल दैनिक चामलको माग उच्च रहेको र मागबमोजिम चामल दिन सकिने अवस्था नरहेको बाजुरा खाद्य संस्थानका प्रमुख वासुदेव भट्टले बताए ।
‘चामलका लागि संस्थानमा सर्वसाधारणको भिड लाग्ने गरेको र प्रतिव्यक्ति १० देखि १५ किलोसम्म वितरण गर्ने गरेका छौँ भट्टले भने, ‘दैनिक ५० क्विन्टलसम्म चामलको माग रहेको छ ।’
पहाडी जिल्लामा हालसम्म पनि सडक विस्तार हुन नसक्दा वर्षायाममा खाद्यान्न ढुवानी हुन नसकी वर्षेनी खाद्यान्न अभावमा भोकमरी हुने गरेको छ । असार बित्न लाग्दासमेत यो आर्थिक वर्षको कोटाको चामल ढुवानी हुन नसकेको सुदूरपश्चिम क्षेत्रीय खाद्य संस्थान धनगढीका प्रमुख सुरेन्द्रराज विष्टले बताए । यसअघि संस्थानको चामल जनताले नकिनेपछि यस वर्ष सरकारले केही जिल्लामा खाद्यान्न कटौती गरेकोले खाद्यान्न अभाव हुने सम्भावना भएको विष्ट बताउँछन् । सबैभन्दा बढी खाद्यसंकट हुने जिल्ला बाजुरामा सरकारले खाद्यान्न कटौती गरेपछि त्यहाँ खाद्यान्नको अभाव सुरु भएको हो ।
बाजुराका लागि नेपाल सरकारले आठ हजार दुई सय क्विन्टल खाद्यान्न स्वीकृत गरेको भए पनि चामल बिक्री नभएको भन्दै कटौती गरेर चार हजार दुई सय ५० क्विन्टल निर्धारण गरेको छ । सरकारले ढुवानी रकमसमेत कम निकासा दिएकोले क्षेत्रीय कार्यालयले चैतमा चार हजार दुई सय ३६ क्विन्टल मात्र चामल पठाएको जानकारी पनि विष्टले दिए । यो सिजनमा पहाडी जिल्लामा करिब २७ हजार क्विन्टल चामल आवश्यक पर्ने क्षेत्रीय खाद्य संस्थान धनगढीले जनाएको छ । तर, सबै जिल्लामा गरी साढे चार हजार मात्र चामल मौज्दात रहेको छ ।
संस्थानका अनुसार बाजुराको मार्तडी र कोल्टीेमा गरी दस हजार पाँच सय क्विन्टल, अछाममा चार हजार पाँच सय, दार्चुलाको पारिबगर, सुनसेरा र खण्डेश्वरीका लागि चार हजार पाँच सय क्विन्टल खाद्यान्न आवश्यक पर्ने बताइएको छ ।
त्यसैगरी बझाङको चैनपुर र बिसौना डिपोमा तीन हजार पाँच सय, बैतडीको पुर्चुकेहाट र मेलौली डिपोका लागि तीन हजार पाँच सय र हुम्लाको श्रीनगरका लागि पाँच सय क्विन्टल चामल आवश्यक हुने विष्ट बताउँछन् ।

प्रतिक्रिया