सेवाग्राही मारमा

दैलेख, २१ असार । जिल्ला आयुर्वेद कार्यालय १४ महिनादेखि प्रमुखविहीन छ । कार्यालय प्रमुख डा. योगबहादुर केसी डिबी परेपछि कुनै जानकारी नै नदिई १४ महिनाअघिदेखि परिवारसहित अमेरिका बस्दै आएका छन् । उनले बिदा पनि स्वीकृत नगराएको कार्यालयका कर्मचारीको दाबी छ ।

निमित्त कार्यालय प्रमुख कुमार मण्डलले प्रमुख डा. डिसी कुनै जानकारीविना अमेरिका बसिरहेको बताए । ‘नेपाल सरकारको नियमविपरीत विदेशमा बसोबास गरे पनि उनलाई कुनै कारबाही भएको छैन,’ उनले भने । कार्यालयमा डाक्टर नहुँदा सेवाग्राही उपचारबाट वञ्चित भएका छन् । प्रमुख डिसी अमेरिका बसिरहेको खबर पाएर पनि कारबाही नहुनु दु:खद् भएको कर्मचारीको भनाइ छ । ‘हामी कहिलेकाहीँ घरायसी काम परेर बिदा लेख्दा पनि उनको झपाराइमा पर्नुपथ्र्यो,’ कार्यालयका एक कर्मचारीले भने, ‘तर, नियमविपरीत उनी विदेश जाँदा पनि कुनै कारबाही नहुँदा हामी दंग परेका छौँ ।’
कार्यालयका अनुसार केसीले जिल्लाबाट बिदा पनि स्वीकृत गराएका छैनन् । उनी नहुँदा सामान्य औषधी उपचारबाहेक जटिल रोगको निधान हुन नसकेको सर्वसाधारणको गुनासो छ । हाल सामान्य रोगको मात्र उपचार गर्ने गरेको निमित्त प्रमुख मण्डलले बताए । ‘जटिलखाले रोगका लागि डाक्टर साबले नै उपचार गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जटिलखाले समस्या आउँछन् उपचार गर्न सकिँदैन, हँुदैन भन्यो, सेवाग्राही कुरै नबुझी गाली गर्छन्,’ उनको दुखेसो थियो । आयुर्वेद कार्यालयका कर्मचारी दोहोरो मारमा परेको निमित्त प्रमुख मण्डलको भनाइ छ । ‘जिल्ला आयुर्वेद कार्यालयलाई प्रमुखको मात्र समस्या परेको छैन,’ उनको भने, ‘आफ्नै भवन हुँदाहुँदै पनि भाडामा बस्नुपर्ने बाध्यता छ ।’ जिल्ला आयुर्वेद कार्यालय दैलेखको काँडाचौरमा रहेको भवन द्वन्द्वका बेलादेखि हालसम्म नेपाली सेनाले प्रयोग गर्दै आइरहेकाले यस्तो समस्या आएको हो ।
द्वन्द्वका समयमा सुरक्षाका कारण नेपाली सेनाले काँडाचौरमा रहेका जिल्ला विकास समिति, नारायण नगरपालिका, जिल्ला खानेपानी र जिल्ला आयुर्वेद कार्यालय बसेको स्थानलाई क्याम्पका रूपमा परिणत गरेको थियो । तर, अन्य कार्यालयको क्षतिपूर्ति र खानेपानी कार्यालयको भवन हस्तान्तरण नेपाली सेनाले गरिसकेको छ तर जिल्ला आयुर्वेद कार्यालयको भवन हस्तान्तरण गरेको छैन । आफ्नो भवन नहुँदा विगत ११ वर्षदेखि कार्यालय भाडामा बस्दै आइरहेको छ । भवन हस्तान्तरण नहुँदा जिल्ला आयुर्वेद कार्यालयले हालसम्म कार्यालय भाडा शीर्षकमा सात लाख ९७ हजार रुपियाँ खर्चेको छ । जिल्ला आयुर्वेद कार्यालयमा एक डाक्टर, दुई कविराज र चारजना वैद्यसहित १३ जनाको दरबन्दी रहेको छ ।

प्रतिक्रिया