वार्ता सरकारसँग हुँदैनः खनाल

काठमाडौं, २० असार । एमाले अध्यक्ष झलनाथ खनालले सरकारको हैसियत नै नभएकाले उनीहरुसँग वार्ता नगर्ने बताएका छन् ।
उनले राजनीतिक तहमा दलहरुसँग मात्रै बार्ता हुने उल्लेख गरे । ‘राजनीतिक पार्टीले बोलाएको उपयुक्त ठाउँमा वार्ता हुन्छ वार्ताको टेबुलपनि आन्दोलन नै हो,’ खनालले भने, ‘पार्टीगत तहमा वार्ता गरे पनि सरकारसँग भने हाम्रो सम्बन्ध छैन ।’
एमाओवादी र मधेसी मोर्चाको गठबन्धनले मुलुकमा संविधान र मुलुकको प्रगतिमा बाधा पुराएको आरोप लगाए ।
युवा संघ नेपालले आज पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजना गरेको उपत्यकास्तरीय कार्यकर्ता प्रशिक्षणमा खनालले संबैधानिक ब्यवस्था नगरी निर्वाचन घोषणा गरेर प्रधानमन्त्रीले मुलुकलाई गतिरोधको खाडलमा हालेको बताए ।
‘संविधानसभाको अवसान गराएर सत्ता लम्याउने षडयन्त्रस्वरुप चुनावको घोषणा गरियो,’ खनालले भने, ‘बाबुराम भट्टराईको गठबन्धन सरकारले संविधान पनि बन्न दिएन, मुलुकलाई पनि अघि बढ्न दिएन ।’
सरकारको लोकतन्त्र विरोधी र स्वेच्छाचारी घोषणालाई खारेज गर्न संयुक्त आन्दोलन र राजनीतिक दलहरुवीच वार्ता गरेको खनालले जानकारी दिए ।
संविधानसभा विघटन र मुलुकमा संबैधानिक संकट उत्पन्न गरेको जिम्मेवारी लिएर एमाओवादी र मधेसी मोर्चा सरकारवाट हट्नु पर्ने उनको भनाई छ ।
‘चुनाव घोषणा गरेर मुलुकको संबैधानिक प्रक्रियालाई किन अलपत्र पारियो ?’ उनले प्रश्न गर्दै भने, ‘त्यसको जिम्मेवारी लिएर सत्ता छोड्नु पर्छ ।’
२७ राजनीतिक दलले घोषणा गरेको आन्दोलनमा अन्य दलहरु पनि सहभागी हुँदै जान थालेको वताउँदै खनालले आन्दोलन वार्ताको टेबुलमा पनि हुन सक्ने वताए ।
राष्ट्रिय सहमति विना बजेट आउन नसक्ने भन्दै उनले सहमति भए आंशिक बजेट ल्याउन सकिने उल्लेख गरे ।

प्रतिक्रिया