मर्ज भएका दुई बैंकले असारभित्रै कारोबार थाल्ने

काठमाडौं, २० असार । विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र धमाधम मर्जरमा गइरहेको अवस्थामा दुई वाणिज्य बैंकले फाइनान्स कम्पनीलाई आफूमा गाभेर असारभित्रै कारोबार थाल्ने भएको छ । हालै मात्र ग्लोबल बैंक, आइएमई फाइनान्स र लर्ड बुद्ध फाइनान्सबीच मर्जर भएर बनेको ग्लोबल आइएमई बैंकले अन्तिम स्वीकृति प्राप्त गरिसकेको छ भने स्ट्यान्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा गाभिएपछि उक्त बैंकलाई पनि केन्द्रीय बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । ती दुई बैंकले यही असारभित्रै कारोबार सुरु गर्ने जनाएको छ ।
हालै एनआइसी बैंक र बैंक अफ एसियाबीच मर्ज गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । यी बैंकले आगामी पुस मसान्तसम्म मर्जमा गइसक्ने लक्ष्य लिएको छ । केही समयअगाडि एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंकबीच मर्ज गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
एभ्को इन्टरनेसनलको ऋणको कारण खराब कर्जा बढेको माछापुच्छ्रे बैंकले एनआरएनद्वारा प्रवद्र्धित स्ट्यान्डर्ड फाइनान्ससँग मर्ज गरेर आफ्नो पुँजी कोषलाई मजबुत बनाएको छ । मर्जरपछि बैंकको नाम माछापुच्छ्रे बंैक लिमिटेड रहने र सञ्चालक समितिको अध्यक्षमा सूर्यबहादुर केसी र प्रमुख कार्यकारी अधिकृतमा भाइकाजी श्रेष्ठ नै रहने भएको छ । मर्जरपछि बैंकको पुँजी वृद्धि भई दुई अर्ब ४८ करोड रुपियाँ पुग्ने र बैंकका शाखा संख्या ५४ र कर्मचारी संख्या करिब ६ सय हुनेछ । मर्जरपछि गठन हुने बैंकको प्रथम सञ्चालक समिति ९ सदस्यीय हुनेछ । जसमा बैंक र स्ट्यान्डर्ड फाइनान्स लिमिटेडको प्रतिनिधित्व अनुपात क्रमश: ५ र ३ जनाको रहनेछ भने एकजना विशेषज्ञ सञ्चालक रहनेछन् । बैंकमा सेयरको अनुपात ६६ दशमलव ५६ प्रतिशत संस्थापक सेयर र बाँकी ३३ दशमलव ४४ प्रतिशत सर्वसाधारण सेयर रहनेछ । माछापुच्छ्रे बैंक लिमिटेड नेपालकै प्रतिष्ठित उद्योगपतिबाट र स्ट्यान्डर्ड फाइनान्स लिमिटेड एनआरएन समूहबाट प्रवद्र्धित संस्था हो ।
त्यसैगरी, ग्लोबल बैंक, आइएमई फाइनान्सियल इस्न्टिच्युसन र लर्डबुद्ध फाइनान्सलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएपछि संस्थाको नाम ग्लोबल आइएमई बैंक लिमिटेड राखिएको छ । मर्जरपछि बैंकको चुक्तापुँजी दुई अर्ब १८ करोड रुपियाँ हुनेछ । निक्षेप करिब २६ अर्ब रुपियाँ र लगानी करिब २० अर्ब रुपियाँ रहने बैंकले जनाएको छ । बैंकमा नौजना सञ्चालक रहनेछन् । सञ्चालकमध्ये ६ जना संस्थापक समूहबाट, दुईजना सर्वसाधारण सेयरधनी समूहबाट र एकजना विशेषज्ञ सञ्चालक रहनेछन् । संस्थापक समूहबाट ग्लोबल बैंकका हालका सबै सञ्चालक नयाँ बैंकमा पनि सञ्चालक रहनेछन् । सर्वसाधारण सेयरधनीका तर्फबाट आइएमईबाट एकजना सञ्चालक रहनेछन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य नै रहनेछन् । वज्राचार्य हाल ग्लोबल बैंकका प्रमुख कार्यकारी हुन् । आइएमईका हालका सिइओ योगेन्द्रप्रसाद ढकाल भने मर्जरपछिको बैंकका महाप्रबन्धक रहनेछन् । बंैकका अनुसार शाखा ५८ वटा हुनेछ । ढकालले असार मसान्तभित्र भक्तपुर, सिरहा, राजविराज र नेपालगन्जमा शाखा विस्तार गरी शाखा संख्या ६२ पुग्ने बैंकले जानकारी दिए ।
ग्लोबलको सय कित्ता सेयरलाई नयाँ संस्थाको सय कित्ता नै आइएमईको सय कित्ता सेयरलाई नयाँ संस्थाको एक सय पाँच कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ । यसैगरी, लर्डबुद्धको सय कित्ता सेयरलाई नयाँ संस्थाको ७० कित्ता सेयर हुने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ । सेयर मूल्य अनुपात कायम गर्दा फरक हुन आएको बचत रकमलाई प्राथमिक पुँजीमा गणना गर्ने गरी पुँजीगत जगेडा कोषमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । तर, बैंकले यसरी राखिएको रकमलाई लाभांश बाँड्न खर्च गर्न भने पाइनेछैन ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जरलाई प्राथमिकतामा राखेपछि मर्जका लागि निवेदन दिनेको ओइरो लागेको छ । राष्ट्र बैंकमा एनआईसी र बैंक अफ एसिया जोडीका अलावा काठमाडौं फाइनान्स र सिभिल मर्चेन्ट वित्तीय संस्था, सोसियल डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंक, रेसुंगा डेभलपमेन्ट बैंक र साइन डेभलपमेन्ट बैंक एवं अरनिको डेभलपमेन्ट बैंक र सूर्य डेभलपमेन्ट बैंकले सैद्धान्तिक सहमतिका लागि निवेदन दिएका छन् ।
लक्ष्मी बैंकमा हाइसेफ फाइनान्स गाभिएर सुरु भएको नेपालका वित्तीय संस्थाको मर्जर प्रक्रिया पछिल्लो समयमा झन् बढेको छ । राष्ट्र बैंकले मर्जर नीति ल्याउनुअघि नै नारायणी फाइनान्स र नेसनल फाइनान्स मर्ज भएर नारायणी नेसनल फाइनान्सका रूपमा सञ्चालित छन् भने नेपाल श्रीलंका मर्चेन्ट बैंक र नेपाल बंगलादेश बैंक गाभिएका छन् । हिमचुली विकास बैंक र वीरगन्ज फाइनान्स मर्ज भएर एच एन्ड बी डेभलपमेन्ट बैंकका रूपमा सञ्चालित छ । त्यसैगरी, बिजनेस डेभलपमेन्ट बैंक र युनिभर्सल फाइनान्स मर्ज भएर बिजनेस युनिभर्सल विकास बैंकका रूपमा कारोबार थालिसकेको छ भने शिखर फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा गाभिएर कारोबार सुरु गरेको छ ।

प्रतिक्रिया