कांग्रेस कार्यकर्ताले एलडिओ कुटे

सिन्धुपाल्चोक, १९ असार । कांग्रेस कार्यकर्ताले पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको ८९औँ जन्मजयन्तीमा आयोजित कार्यक्रममा जेनेरेटर नचलाएको भन्दै एलडिओमाथि हातपात गरेका छन् ।

जिविस सभाहलमा आयोजित २ नम्बर क्षेत्रीय कार्यकर्ता भेलामा लोडसेडिङ हुनेबित्तिकै जेनेरेटर नचलाएको भन्दै कार्यकर्ताले एलडिओ नारायणबहादुर थापामाथि हातपात गरेका हुन् ।
कार्यक्रम सञ्चालन भइरहेका बेला विद्युत् आपूर्ति अनियमित भइरहेको थियो । बिजुली गएको दुई मिनेट बित्दा पनि जेनेरेटर नचलाएपछि केही कांग्रेस कार्यकर्ता जिविस कर्मचारीसमक्ष आक्रोशित ढंगमा प्रस्तुत भएका थिए । जिविस कर्मचारीले कार्यालयमा डिजेल नभएको बताएपछि आक्रोशित समूहले एलडिओको कार्यकक्षमा गएर उनीमाथि गालीगलौज गर्दै हातपात गरेका थिए ।
कांग्रेस कार्यकर्ता सुरजमान श्रेष्ठको समूहले जिविसमा एमाले कार्यकर्ता धेरै भएकाले कांग्रेसको कार्यक्रमलाई नियतवश डिजेल नदिएको आरोप लगाएका थिए । ‘अरूको कार्यक्रममा डिजेल हुने,’ उनले भने, ‘नियतवश हाम्रो कार्यक्रम बिथोल्न डिजेल छैन भनेर ढाँटियो ।’

प्रतिक्रिया