प्रशासनकै मिलेमतोमा गिट्टी निकासी

रौतहट, १८ असार । अवैधरूपमा चुरेक्षेत्रबाट निकालिएका क्रसरजन्य उत्पादन निकासीमा भन्सार र प्रहरी प्रशासनको मिलेमतो भएपछि रौतहटको एकमात्र क्रसर उद्योगले अवैध उत्खनन जारी राखेको छ । शिवशक्ति क्रसर उद्योग गरुडाले दैनिक ५० ट्रकभन्दा बढी गिट्टी भारत निकासी गरिरहेको छ । बाटोमा रहेका प्रहरी चौकीले प्रतिट्रक एक सय रुपियाँभन्दा बढी रकम असुलेर उद्योगको निकासीलाई पनि साथ दिएको जिल्ला विकास समितिले पनि स्विकारेको छ ।

गत भदौमा गिट्टी निकासीको बाटो खुला भएपछि जिविसले २१ हजार घनमिटर गिट्टी निकासीका लागि उद्योगलाई अनुमति दिएको थियो । प्रतिघनमिटर दुई रुपियाँ नब्बे पैसा राजस्व लिने गरी उद्योगले अनुमति पाएको हो । एलडिओ राजकिशोर साहका अनुसार निकासीका लागि दिइएको परिमाण भन्दा बढी गिट्टी उद्योगले भारत पठाइसकेको छ । भन्सारको मिलेमतोमा परिमाणभन्दा बढी गिट्टी भारत गइरहेको उनले बताए । उद्योगले अहिले पनि दैनिक ३० देखि ५० ट्रक गिट्टी भारत पठाउँदै आएको छ । उद्योगले बारा र सर्लाहीबाट पनि गिट्टी रौतहट ल्याएर भारत पठाउने गरेको पाइएको छ ।
गिट्टी व्यापारीले गौरभन्सारका कर्मचारी तथा प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर परिमाणभन्दा बढी गिट्टी भारत पठाइरहेको जिविसले स्विकारेको छ । जिविसले दिएको भन्दा बढी परिमाणको गिट्टी निकासी भए पनि उद्योग, भन्सार र प्रहरी प्रशासनले भने नियमअनुसार नै निकासी भइरहेको दाबी गरेको छ । उद्योगले जिविसले दिएको अनुमतिकै आधारमा गिट्टी निकासी गरेको जनाएको छ ।

प्रतिक्रिया