मार्जिन लेन्डिङ लागू गर्न अध्ययन सुरु

काठमाडौं, १७ असार । सेयर बजारलाई थप चलायमान बनाउन नेपाल धितोपत्र बोर्डले सेयर दलालमार्फत मार्जिन लेन्डिङ सुरु गर्ने विषयमा अध्ययन थालेको छ । सेयर दलाल व्यवसायीले बजारको अवस्थाबारे बैंकहरूभन्दा बढी आफू जानकार रहेको हुँदा आफूमार्फत नै मार्जिन लेन्डिङको व्यवस्था गर्न माग गर्दै आइरहेको भए पनि संक्रमणकालीन राजनीतिक अवस्थाका कारण माग सम्बोधन भएको थिएन । करिब एक महिनाअघि अर्थ मन्त्रालय र तीन लगानीकर्ता संंघसँग भएको नौंबुँदे सम्झौतामा दलालमार्फत मार्जिन लेन्डिङका लागि तत्काल पहल गर्ने सहमति भए बमोजिम अध्ययन कार्य सुरु गरिएको नेपाल धितोपत्र बोर्डका उपनिर्देशक मुक्ति श्रेष्ठले बताए ।
मार्जिन लेन्डिङ गर्दा तीन पक्ष ऋण दिने बैंक तथा वित्तीय संस्था, दलाल कम्पनी र ऋण लिने लगानीकर्ताबीच छुट्टाछुट्टै करार सम्पन्न गर्नुपर्ने हुन्छ । दलाल कम्पनीले बैंकसँग एउटा करार गर्छ । दलाल कम्पनीले फेरि छुट्टै रूपमा ऋण लिने लगानीकर्तासँग पनि करार गर्छ । ऋणीको प्रत्यक्ष सम्पर्क भने दलाल कम्पनीसँग मात्र हुन्छ । ऋणीले दलाल कम्पनीमै आफूसँग भएको विभिन्न कम्पनीहरूको सेयर धितो राखी ऋण लिने गरेका छन् । सेयरको मूल्य घट्दा पनि ऋणको मार्जिन तिर्न नसकेमा तुरुन्त दलालले तत्कालीन बजारमूल्यमा सेयर बिक्री गरी आफ्नो रकम असुल गर्ने अख्तियार पाएको हुन्छ ।
उपनिर्देशक श्रेष्ठले मार्जिन लेन्डिङको कानुनी व्यवस्था गर्न सरोकारवालासँग छलफल प्रक्रिया अगाडि बढाइएको बताए । अर्थ मन्त्रालयको निर्देशन बमोजिम तत्कालका लागि भने सेयर दलालले प्रदान गर्ने खरिद रसिदको आधारमा ऋण प्रदान गर्ने व्यवस्था गरिएको छ । सेयर रसिदको आधारमा सेयर धितो सिफारिस गर्नेसम्बन्धी दलाल कम्पनीको अन्योललाई हालैको धितोपत्र बोर्डको बोर्ड बैठकले हल गरिसकिएको बताउँदै अब बैंक तथा वित्तीय संस्थाको स्वविवेकमा एवम् दलाल कम्पनीको सिफारिसमा सेयर लगानीकर्ताले सेयर धितो रसिदका आधारमा समेत कर्जा पाउने भएको छ । ‘ऋणको विश्वनीयता नभए पनि बैंकले लगानीकर्ता हेरेर ऋण प्रदान गर्न सक्नेछ,’ उनले भने ।
विगतमा सेयर खरिद रसिद एवं आइपिओमा सेयर बुझाएको अर्धकट्टीको धितोमा समेत बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गरेका थिए । सेयर बजार एकदम उचाईमा रहेका बेला राष्ट्र बैंकले यस्ता किसिमको कर्जा प्रवाह गर्नमा रोक लगाएको थियो । लगानीकर्तासँग सरकारको नौबुँदे सहमतिपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दलाल कम्पनीको सिफारिस एवं सेयर प्रमाणपत्रविना केवल सेयर खरिद रसिदका आधारमा पनि सेयर कर्जा प्रदान गर्न निर्देशन जारी गरिसकेको छ । सिडिएस सञ्चालनमा आएपछि यस्तो कर्जा प्रवाह गर्न अझ सहज हुनेछ । सिडिएस आएपछि डिजिटल रूपमा मात्र सेयर प्रमाणपत्र रहने हुँदा यस्तो कर्जा प्रवाह गर्न कसले सेयर बिक्री गरेको छ वा किनेको छ उसको खातामा नै देखिने भएपछि कर्जा प्रवाह गर्न सजिलो हुने बताइएको छ ।
दलालले ग्राहकलाई कर्जा दिने व्यवस्था धितोपत्र बोर्डको पञ्चवर्षीय गुरुयोजनामा समेत समेटिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाले सेयर प्रमाणपत्रको धितोका आधारमा कर्जा प्रदान गर्ने गरेका छन् । भारतमा सेयर दलालमार्फत नै मार्जिन लेन्डिङ भइरहेको छ । भारतमा ५० प्रतिशत रकम लगानीकर्ताले बुझाएपछि ५० प्रतिशत सेयर दलालमार्फत ऋण लिएर सेयर किन्न सकिने व्यवस्था छ ।
धितोपत्र बोर्डका अनुसार दलाल कम्पनीमार्फत मार्जिन लेन्डिङ सुरु गरिए पनि हाल प्रचलित सेयर धितो कर्जा यथावत् नै रहनेछ । लामो समयसम्म कर्जा रकम उपयोग गर्ने लगानीकर्ताले सेयर धितो कर्जाको उपयोग गर्न सक्नेछन् भने छोटो समयका लागि कर्जा लिएर सेयर बजारमै लगानी गरेर पैसा बनाउन तत्पर लगानीकर्ता भने दलालमार्फतको मार्जिन लेन्डिङमा आकर्षित हुने उनले बताए ।

प्रतिक्रिया