अर्थबजार

‘पहिलो’ साख जोगाउँदै माथिल्लो तामाकोसी

सौर्य अनलाइन २०६९ असार १७ गते २:१० मा प्रकाशित


लामाबगर (दोलखा), १७ असार । स्वदेशी लगानी, क्षमता, भूगोल, ठूलो, समन्वय आदिका कारणले नेपालकै पहिलो निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अहिले ‘पहिलो’ साख जोगाउने दौडमा छ ।
बन्द, हडताल, डिजेल अभाव, तामाकोसी सञ्चालक विवाद, भन्सारको समस्या आदि कारणले निर्माणमा आठ महिना ढिलाइ भइसकेको भए पनि उक्त आयोजना समयमै निर्माण भएको आयोजनाको रूपमा आफ्नो साख जोगाउने दौडमा लागेको हो । पहिलो प्रयासका रूपमा सुरु गरिएको तामाकोसीमा ढिलाइ हुने चिन्ता र प्रधानमन्त्रीदेखि स्थानीयवासीसम्मको समयमै बन्नुपर्ने चाहानासँगै अहिले तामाकोसी पहिलाको तुलनामा बढी सक्रिय भएको छ ।
‘विविध कारणले आयोजना निर्माणमा आठ महिना ढिलाइ भइसकेको छ । पहिलाकै लक्ष्यअनुसार निर्माण गर्नका लागि हामी पूरै शक्तिका साथ सक्रिय भएका छाँै,’ तामाकोसी सञ्चालक समितिका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले भने, ‘राष्ट्रिय गौरवको पहिलो जलविद्युत् आयोजना भएकोले नेपालका जलविद्युत् आयोजना तोकिएको समयमा बन्दैनन् भन्ने नराम्रो सन्देशको अन्त्य गर्न हामी सक्रिय छाँै ।’
विदेशी ऋण र सहयोगविना नेपालले जलविद्युत् आयोजना बनाउन सक्दैन भन्ने बेलामा स्वदेशी लगानीमै सुरु भएको नेपालको यो पहिलो आयोजना हो । नेपाल विद्युत् प्राधिकरण, बिमा संस्थान, नागरिक लगानी कोष र नेपाल टेलिकम तथा स्थानीयवासीको यसमा सेयर छ । सबैभन्दा बढी स्थानीयवासीको सेयर राख्ने गरी सुरु भएको यो पहिलो आयोजना भएको आयोजनाका सिभिल इन्जिनियर पदम पोखरेल बताउँछन् ।
आयोजनाका अनुसार, सबैभन्दा बढी ४५६ मेगावाट विद्युत् उत्पादन गर्ने, २०६ किलोमिटर टाढाको सबैभन्दा ठूलो, प्रतिमेगावाट एक हजार मात्र डलर पर्ने सबैभन्दा सस्तो, प्राकृतिक बाँध भएको, सबैभन्दा बढी ८३६ हेड भएको, आवश्यक गिट्टी, बालुवा आयोजनास्थलमै पाइने तथा संस्थागत रूपमा नेपाली कम्पनीको लगानी रहेको तामाकोसी नेपालकै पहिलो आयोजना हो ।
सरकारले राष्ट्रिय गौरवको पहिलो आयोजना घोषणा गरेको माथिल्लो तामाकोसी आयोजना विश्वकै सबैभन्दा भौगोलिक रूपमा मिलेको उपयुक्त आयोजनाभित्र पर्छ । नेपालले हिउँदमा लोडसेडिङको समस्या भोगिरहेका बेला सो आयोजना रन अफ द रिभर भए पनि सबैभन्दा उपयुक्त आयोजना हो । ‘माघ/फागुनदेखि असारसम्म तामाकोसीमा गर्मीसँगै हिउँ पग्लेर बढ्छ र वर्षामा पनि उद्दण्ड हुँदैन,’ आयोजनाका सिभिल इन्जिनियर बलराम केसीले भने, ‘भौगोलिक, प्राविधिकलगायत कारणले विश्वकै उत्कृष्टभित्र पर्ने आयोजना जलविद्युत् क्षेत्रका लागि आफैमा अपत्यारिलो छ ।’ अधिकांश जलविद्युत् आयोजनामा स्थानीयवासीबाट बाधाअवरोध आउने गरेको छ । माथिल्लो तामाकोसी पनि यसबाट अछुतो छैन तर आयोजनासँग समन्वय गर्न सबै राजनीतिक दलको सहभागितामा जिल्ला र केन्द्रीय समन्वय समिति गठन गरिएको छ । स्थानीयवासीले आफ्नो आयोजनाको रूपमा लिएको पहिलो आयोजना नै हो– यो । तुलनात्मक रूपमा सबैभन्दा कम बाधाअवरोध भएको आयोजना पनि यो नै पहिलो भएको आयोजना सम्बद्ध व्यक्तिहरू बताउँछन् ।
विगतमा धेरै समस्या भोगिरहेको माथिल्लो तामाकोसीलाई सरकारले पनि उच्च प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय गौरवको आयोजना भएकोले आयोजनामा कुनै बाधाअवरोध र समस्या आउन नदिने बताउँछन् । ‘समयमै आयोजना सम्पन्न गर्नुुको विकल्प छैन, जोड दिएर लाग्नुस्, सरकार जुनसुकै सहयोग गर्न तयार छ,’ हालै माथिल्लो तामाकोसी पुगेका प्रम भट्टराईले भने । ऊर्जा सचिव हरिराम कोइराला पनि आयोजना निर्माणका लागि आवश्यक सबै सहयोग र सबै समस्या समाधानका लागि सहयोग गर्न ऊर्जा मन्त्रालय तयार रहेको बताउँछन् ।
पहिला भएको ढिलाइलाई पूर्ति गर्ने गरी अहिले माथिल्लो तामाकोसी आयोजना सक्रिय छ तर डिजेलको अभाव, विस्फोटक पदार्थलगायत समस्या पूर्णरूपमा समाधान भइसकेको छैन । विगतमा सञ्चालक सदस्य नियुक्ति र आयोजना प्रमुखको विषयलाई लिएर साढे तीन महिनासम्म बोर्ड बैठक नबसेर चर्चा र विवादमा पनि पहिलो भएको आयोजनामा अहिले त्यो समस्या भने छैन । पहिलाको ढिलाइलाई पूर्ति गर्न सुरुङ मात्र आठ ठाउँबाट प्रतिदिन करिब २० मिटर खन्ने काम भइरहेको छ । ‘सबै हिसाबले तामाकोसी चर्चामा रहेकोले पहिला तोकिएकै समयमा बनाउनका लागि हामी दु्रतगतिमा काम गरिरहेका छाँै,’ निमित्त आयोजना प्रमुख विज्ञान श्रेष्ठले थपे, ‘वर्षामा मोटरबाटो बिग्रने डर छ, प्रकृतिले साथ दिएमा ढिलाइ हुँदैन, पहिलाको भन्दा अहिले धेरै काम भइरहेको छ ।’ उनका अनुसार, अहिले जनशक्तिमा भने केही कमी छ तर त्यसले कामलाई प्रत्यक्ष प्रभावित बनाइसकेको छैन ।
दोलखाको लामाबगर गाविसमा निर्माणाधीन आयोजनाकै कारणले अहिले चरिकोटबाट झन्डै ६८ किलोमिटर टाढा रहेको आयोजनास्थलमा मोटरबाटोसमेत पुगिसकेको छ । २०६३ सालमा निर्माण सुरु भएको उक्त आयोजना चैत २०७२ भित्र बनाइसक्ने लक्ष्य छ । ३५ अर्ब २९ करोड रुपियाँको लागतमा आयोजना निर्माण हुन लागेको हो । यो आयोजना समयमै सम्पन्न गर्न सकेमा नेपाली लगानीकर्ताले ठूलाठूला आयोजना निर्माण गर्न सक्छन् भन्ने सन्देश जाने जलविद्युत् क्षेत्रका विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय