“मुक्तक मन्त्र” माथि मन्थन

नाग र नेता एकै ठाउँ परेछ हजुर
डर लागेन भन्दै एउटाले सोधेछ हजुर
इष्र्यालु र विषालु दुवै छौँ तापनि
डसे मलाई सर्प नै मर्छ, नेताले भनेछ हजुर ।
एउटा बान्की मात्र हो, यो मुक्तककार रामकाजी कोनेले सिर्जना गरेका अनेकविधि मुक्तकहरूको संग्रह ‘मुक्तक मन्त्र’ को । समग्रमा १ सय ३२ वटा मुक्तक समेटिएको यो उनको दोस्रो मुक्तक संग्रह हो जुन करिब दुई महिनापहिले सार्वजनिक भएको थियो र शनिबार राजधानीमा यसै संग्रहमाथि अन्तरक्रिया कार्यक्रम आयोजना भयो । यसअघि कोनेका १ सय ४४ मुक्तक समेटेर पहिलो संग्रह ‘मुक्तक मेला’ विक्रमाब्द–२०६६ मा प्रकाशन भएको थियो ।
लघुकथा तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न तथा कोने कल्याण कोषद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले मुक्तककार कोनेले जीवनमा भोगेर आर्जन गरेका कुरा आफ्ना मुक्तकमा पोखेको उल्लेख गर्दै भने, ‘मानिस भोक्ता हो, ज्ञाता होइन । ज्ञाता हुन पनि सक्दैन ।’ उनले कोनेका मुक्तकमा भावनाको साधारणीकरण प्रबलरूपमा छाएको अनुभूत गर्न सकिने पनि बताए ।
समकालीन नेपाली साहित्यमा मुक्तक तथा गजल विधाका स्थापित हस्ती ज्ञानुवाकर पौडेलले ‘संक्षेपमा जान चाहन्छु’ भन्दै ‘मुक्तक भनेको रुवाइको नेपाली रूपान्तरण होइन’ बाट सुरु गरेर निकै लामो इतिवृत्त सुनाए । उनले भने, ‘सामाजिक दायित्वबोध भएका मुक्तक नलेखिएको हुँदा मुक्तक विधाको अपेक्षित विकास हुन नसकेको हो । पौडेलले मुक्तककार रामकाजीका मुक्तकमा सरलताभित्र गहनता छ भन्दै एउटा चुनौतीको उद्घोष गरे, ‘यदि कसैले कोनेका मुक्तक कमजोर छन् भन्छ भने म आजैदेखि मेरो सबै लेखन बन्द गरिदिन्छु ।’

प्रतिक्रिया