दुई महिना टिकेन दुई करोडको सडक

काभ्रे, १७ असार । नगर विकास कोषले नगरपालिकालाई उपलब्ध गराएको अनुदानबाट निर्मित सडक दुई महिना पनि नटिकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । निर्माण गरिएको अधिकांश सडक गुणस्तरहीन पाइए पनि नगरपालिकाले सडक निर्माण कम्पनीलाई रकम भुक्तानी दिएपछि स्थानीयले भने नगरपालिकामा उजुरी गरेर पुन: काम गर्न माग गरेका छन् ।

पनौती नगरपालिकालाई नगर विकास कोषबाट उपलब्ध गराइएको दुई करोड १२ लाख ४८ हजार रुपियाँ अनुदानबाट बनाइएको सडक गुणस्तरहीन भएको हो । २३ भदौ ०६८ मा बसेको बोर्ड बैठकको निर्णयपछि पनौती नगरका वडा नम्बर १ देखि १३ सम्मका सहायक सडकमा ढुंगा छाप्ने कार्यका लागि नगर विकास कोषबाट अनुदान लिइएको थियो ।
नगर विकास बोर्डले प्रस्ताव गरेको निर्माणकार्यलाई कोषले आवश्यक रकम उपलब्ध गराएपछि प्रतिस्पर्धामार्फत टेन्डर गराई नगरपालिकाले नगरका ६ र ७ नम्बर वडाबाहेक सबै वडाका सहायक सडकमा ढुंगा छाप्ने कार्य गरेको थियो । आर्थिक वर्षको अन्तमा निर्माण कार्य सम्पन्न गर्ने चटारोमा गुणस्तरहीन सडक निर्माण भएपछि नगरवासीले नगरपालिकामा उजुरी गरेर पुन: काम गराउन माग गरेका छन् ।
गुणस्तरहीन कामलाई योजना फरफारख गरी रकम दिन सिफारिस गर्ने नगरपालिकाका इन्जिनियर प्रेमकुमार सोनाम, सबइन्जिनियर सुदीप थापा र ठेकेदार हस्त लामा, तीर्थ लामा र नगर विकास कोषका विनोद न्यौपानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । साइड इन्चार्ज थापाले केही सडकमा ठेकेदारले सम्झौताअनुसारको काम नगरेको बताए । ब्लकअनुसारको ढुंगा एउटै साइजको हुनुपर्ने भए पनि नभएको उनले बताए । ‘नगरवासीको गुनासो आएकोले केही सडकको भुक्तानी रोकेका छौँ,’ उनले भने ।
नगरपालिकाले वडा नम्बर १ मा बिस्कुट कारखाना जाने बाटोका लागि १४ लाख १८ हजार, वडा नम्बर ११ को ढलमलेदेखि हयाचरीसम्मको बाटोका लागि १७ लाख २६ हजार, वडा नम्बर ५ को कपालकोटका लागि ११ लाख ३२ हजार र वडा नम्बर ८ को खरिबोट पुरानो सडकका लागि १३ लाख ४१ हजार रुपियाँमा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।
यस्तै, ९ नम्बर वडाको टिकेचोकदेखि ठूलो पँधेरो बाटोका लागि १३ लाख ३७ हजार, १० नम्बर वडाको सुन्थान चोकदेखि खल्थली सडकका लागि सात लाख ७० हजार, ११ नम्बर वडाको रातमाटे सडकका लागि १४ लाख २० हजार र सतीमार्ग सडकका लागि १० लाख ७४ हजार रुपियाँमा सम्झौता गरेको थियो । यस्तै वडा नम्बर १३ को कार्की टोलका लागि नौ लाख २६ हजार, वडा नम्बर २ को हाइल्यान्ड जाने बाटो र सुब्बागाउँको नेवा: गाउँ जाने सडकका लागि खानी निर्माण कन्ट्रक्सन, कुशेश्वर र हर्ष कन्ट्रक्सनको अख्तियारी पाएका हस्त लामासँग २ करोड ९४ हजार रुपियाँमा सम्झौता गरेको थियो ।
नेपाली कांग्रेस र एनेकपा (माओवादी)का जिल्ला तहका नेतालाई दिइएको ठेक्का सम्झौतामा अधिकांश सडकमा नाली बनाउने पनि उल्लेख गरिएको छ तर नाली बनेका सडकमा प्रयोग गरिएको मसला कमसल भएकोले निर्माण नसकिँदै भत्किए पनि नगरपालिकाले उनीहरूविरुद्ध कारबाही गर्न सकेको छैन । सडकमा क्युरिङ गर्ने सम्झौता भए पनि गरिएको छैन । इन्द्रावती खोलाबाट १० सेन्टीबराबरको एउटै साइजको ढुंगा छाप्ने सर्तअनुसार पनि काम नभएपछि सडक भत्किन सुरु भइसकेको छ । ६ इन्च ढलान गर्ने सम्झौता भए पनि चार इन्चको बनाएर अनियमितता गरिएको छ ।

प्रतिक्रिया