शरदचन्द्र शाहसित अधुरो भेट


शरदचन्द्र शाहलाई मैंले पहिलोपटक राजधानीको गौशाला पिंगलास्थानमा भेटेको थिएँ । एउटा रेस्टुराँ छ त्यहाँ– कार्की किचेन । साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ का सम्पादक नगेन्द्र शर्माको पहलमा हरेक महिनाको पहिलो बिहीबार त्यो रेस्टुराँमा प्राय: पुराना र केही नयाँ साहित्यकारको मदिरामय साहित्यिक जमघट हुने गर्छ तथापि अघिपछि पनि यस्तो जमघट हुन कुनै बन्देज छैन । अक्सर ‘गोइङ टुगेदर, पेयिङ सेपरेट’ को सिस्टम लागु भएको देखिन्छ । यसमा पनि पहिलो बिहीबारको रौनक नै अर्को हुन्छ । प्राय: कविता, मुक्तक, गजल आदिको लयात्मक र गेयात्मक प्रस्तुतिले माहोलमा बेग्लै रंग छाउन थालेको हुन्छ । बस्, त्यस्तै एउटा बिहीबारे जमघटमा शाहसित जम्काभेट भएको थियो ।
मसित शाहको एउटा स्टेरियो टाइप खाका मात्र थियो– राष्ट्रिय खेलकुद परिषद्का सबैभन्दा लामो समयसम्म सदस्यसचिव भएका व्यक्तित्व, खेलकुद इतिहासमै सबैभन्दा शक्तिशाली र प्रभावशाली नेता, राष्ट्रिय खेलकुदलाई बलियो आधार प्रदान गर्ने व्यक्तित्व, खेल र खेलाडीलाई पञ्चायतको सुरक्षाका लागि प्रयोग गरेर खेलक्षेत्रलाई राजनीतिको गोटी बनाउने धूर्त व्यक्तित्व, दक्षिण एसियाली खेलकुद (साग) का परिकल्पनाकार, दरबारका हनुमान र यस्तैयस्तै ।
कार्की किचेनको त्यही जमघटमा हामी पनि थियौँ । शाहसँगै कुनै सहयोगी युवती पनि थिइन् र उनकै सहयोगमा उनी कुनै विदेशी ब्रान्डको मदिरा पानी मिसाई पिउँदै थिए, मैले स्वदेशी रुस्लान भोड्का र स्प्राइटको मिश्रण मन पराएँ । मेरो अभिवादनको जवाफमा उनले गहिरो आँखाले मतिर हेरे र केही सम्झने प्रयास गरेजस्ता देखिए । पछि उनले खेलकुद पत्रकारमा केवल दुईजना नवीन अर्याल र श्रीविक्रम भण्डारीलाई मात्र चिनेको बताए । अर्थात्, उनलाई मेरो नामको कुनै हेक्का रहेनछ । उनको आइटी ज्ञान र स्मरण शक्ति बेजोड थियो भन्ने मैले धेरै सुनेको थिएँ ।
उनको धमनीमा राजखलकको रगत बग्थ्यो । उनी थिए सल्यानी राजाका नाति साथै राजा त्रिभुवनका पनि छोरीपट्टिका नाति । उनकी आमा नयपाल राज्यलक्ष्मी थिइन्, जो राजा त्रिभुवनकी जेठी छोरी थिइन् । उनका पिता सुरेन्द्रबहादुर शाह शाही नेपाली सेनाका प्रधानसेनापति थिए । खासगरी उनकी आमा अत्यन्त मेधावी थिइन् र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्ने पनि र बेलायतको प्रतिष्ठित अक्सफोर्ड युनिभर्सिटीबाट पनि स्नातकोत्तर गर्ने प्रथम नेपाली महिला भनेर सम्मानित छन् ।
खासमा, शरदचन्द्र शाह एक भिजनरी थिए । उनको महत्ता र उपादेयता नेपालका आममनुष्यले बुझ्न सक्दैनथे र बुझनेनन् पनि । उनको चाकडी गर्नेहरूले उनलाई ‘नेपाली खेलकुदका बादशाह’ भने । खेलकुदलाई भित्री तहसम्म नबुझ्नेहरूले उनलाई नेपाली खेलकुदका मसिहा र भगवान् नै भने । अर्काथरि उपब्रुजुकहरूले उनलाई ‘खेलकुदका धुन्धुकारी’ पनि भने र आरोप लगाए– उनले खेलकुदलाई राजनीतिको फाँट हराभरा पार्न सारा ल्याकत लगाए । तर, साँचो कुरा के हो भने उनी एकजना सामान्य मानिस थिए जोसँग असाधारण दिमाग थियो । विक्रमीय संवत् २०१५ मा स्थापना भएको राखेपमा होराप्रसाद जोशी पहिलो सदस्य सचिव भएका थिए । शरदचन्द्र शाह २०३४ मा मात्र त्यो पदमा पुगेका थिए । त्यसो त शरदचन्द्र राखेपमा आइनसक्दै पनि ओलम्पिक र एसियाली खेलकुदमा नेपालको सहभागिता सुरु भइसकेको थियो । जितबहादुर केसीले नेपालका लागि विसं २०३० मै पहिलो अन्तर्राष्ट्रिय पदकका रूपमा म्याराथनको कास्य पदक जितिसकेका थिए । फुटबल, टेबलटेनिस, ब्याडमिन्टन, एथलेटिक्स, भलिबल आदि खेलको लहर मुलुकमा यथावत् नै थियो । यस्तो बेलामा राखेप नेतृत्वमा आएका उनले ७५ वटै जिल्लामा सानोठूलो जेजस्तो भए पनि भौतिक संरचना खडा गरे, अनेक स्थानमा कभर्डहल निर्माण गराए । विद्यालय खेलकुद, नगरपञ्चायतस्तरीय खेलकुद, राष्ट्रिय खेलकुद, दक्षिण एसियाली खेलकुद आदि सुरुआत गरेर उनले नै मुलुकमा खेलकुदको तरंग ल्याएका थिए । कठोर अनुशासन र खेलाडीलाई वैदेशिक प्रशिक्षण उनको विशेषता थियो ।
सत्य के पनि हो भने उनले खेलकुदमा मानसिक दासताका जरा नराम्ररी गाडे । दरबारको निकटस्थ व्यक्तित्व भएकाले उनको रवाफ बेग्लै थियो । अञ्चलाधीश र मन्त्री नियुक्ति गर्नेसम्मका कुरामा उनको प्रभाव पथ्र्योे । खेलकुद वा मनोरन्जन कर र अन्य तरिकाबाट पैसा उठाउने हुँदा उनलाई पैसाको कहिल्यै अभाव भएन । उनी त्योबेलाको कुख्यात भूमिगत गिरोहका एक हस्ति थिए र दरबारलाई खुसी पार्न जे पनि गर्न सक्थे । २०४५ सालमा त्रिभुवन च्यालेन्ज सिल्ड फुटबल भइरहेको बेला आचानक आँधीहुरी आई दशरथ रंगशालामा भागदौड मच्चिदा ७२ जना दर्शक मरेपछि नैतिकताको आधार देखाई शिक्षामन्त्री केशरबहादुर विष्टले जस्तै शाहले पनि पदबाट राजीनामा दिएका थिए । २०४६ सालमा पञ्चायत फाल्ने निर्णायक आन्दोलन हुँदा उनी सिंगापुरमा थिए । त्यही आन्दोलनको क्रममा डिल्लीबजारस्थित उनको घरमा आन्दोलनकारीले आगो लगाइदिएका थिए । त्यही रेस्टुराँको जमघटमा मलाई शाहको नयाँ अवतार थाहा भयो– उनी एकजना पुराना कवि पनि रहेछन् । मायापिरती, प्रकृति र देशभक्तिका कविता लेख्दा रहेछन् । र, उनका कविता अन्यत्र कतै होइन, उही ‘अभिव्यक्ति’ मा मात्र छापिने गर्दा रहेछन् ।
बितेको बुधबार ६ असारमा अचानक उनको मृत्युको खबर सार्वजनिक भयो । अरू खेलप्रेमीजस्तै मेरा पनि नौ नारी गलेर आए । उनलाई दोस्रोपटक भेटेर लामो कुराकानी गर्ने मेरो इच्छा कहिल्यै पूरा नहुने भयो । शाहले सिंगापुरमा औषधि गरेर फर्केपछि भेट्ने वाचा गरेका थिए तर सिंगापुरबाट न उनी फर्के न उनको शरीर, उनको दाहसंस्कार नै उतै भयो । यता आयो त उनको निधनको समाचार मात्र । यसले गर्दा उनले भनेको त्यो कुरा अब ‘वाचाहरू तोड्नका लागि नै गरिन्छन्…’ भनेझैँ भएको छ । संयोग भनौँ वा नियति, कार्की किचेनमा भएको त्यही भेट नै शरदचन्द्र शाहसित मेरो पहिलो र अन्तिम भेट हुन गयो ।

प्रतिक्रिया