एनआइसी र बैंक अफ एसिया गाभिँदै

काठमाडौं, १५ असार । ‘क’ वर्गका वाणिज्य बैंकहरू एनआइसी बैंक र बैंक अफ एसिया (बिओए) मर्ज हुने भएका छन् । दुई बैंकले बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर गरी पुस मसान्तसम्म मर्जर सम्पन्न गर्ने उद्देश्य रहेको एनआइसी बैंकका सञ्चालक राजेन्द्र अर्यालले बताए ।
नेपाल राष्ट्र बैंकले २ महिनाअघि दुवै बैंकका सञ्चालकलाई बोलाएर मर्जरमा जान सुझाब दिएपछि दुई बैंक मर्जरमा जाने प्रक्रिया सुरु गरेका हुन् । दुवै बैंकमा विशाल समूहको ठूलो सेयर हिस्सा रहेको छ । राष्ट्र बैंकको नीतिअनुसार एउटै परिवार वा व्यापारिक घरानाको लगानी रहेको वित्तीय संस्थालाई गाभ्न प्रोत्साहित गर्ने नीतिअनुसार दुई बैंक मर्जका लागि राजी भएको केन्द्रीय बैंक स्रोतले बतायो तर एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत ससिन जोशी भने राष्ट्र बैंकको दबाबले मर्जरका लागि सहमति जनाएको नभई आवश्यकताका आधारमै मर्जरमा जान खोजिएको बताए ।
मर्जरसम्बन्धी कार्य अघि बढाउन एनआइसी बैंकका सञ्चालक राजेन्द्र अर्यालको संयोजकत्वमा एनआइसीका तर्फबाट सञ्चालकहरु लोकमान्य गोल्छा, प्रमुख कार्यकारी अधिकृत ससिन जोशी एवं बैंक अफ एसियाका तर्फबाट सञ्चालकद्वय हिमबहादुर रावल, सतिशकुमार मार तथा कामु प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल रहेको एक संयुक्त मर्जर समिति गठन गरिएको छ ।
एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले दुवै बैंक अन्तर्राष्ट्रिय बैंक भित्र्याउने प्रयासमा रहे पनि अन्तत: नेपालकै बैंकसँग मर्जरमा जाने निर्णयमा पुगेको बताए । ‘नेपालको बैंकिङ इतिहासमै कुनै पनि स्ट्रेसमा नपरीकन स्वतन्त्र रूपमा सफलतापूर्वक सञ्चालित ‘क’ वर्गका दुई वाणिज्य बैंकबीच मर्ज हुन लागेको यो पहिलोपटक हो,’ उनले भने । जोशीका अनुसार मर्जर सफल भएपछि बन्ने बैंकको पुँजी आधार साढे ४ अर्बको हुनेछ, जुन अहिलेसम्मकै निजी क्षेत्रका बैंकको सबैभन्दा ठूलो हुनेछ । हाल एनआइसीको ३७ वटा एटिएम र ३६ शाखा रहेको छ भने बैंक अफ एसियाको २२ एटिएम र २९ शाखा छन् । मर्जपछि बन्ने बैंकको ५९ वटा एटिएम र ६५ वटा शाखासहित अहिलेसम्मको सबैभन्दा ठूलो निजी क्षेत्रको शाखा नेटवर्क भएको बैंक बन्ने उनले दाबी गरे ।
बैंक अफ एसियाका कामु प्रमुख कार्यकारी अधिकृत रिसालले बैंक अफ एसियाको नेपालको पूर्वी क्षेत्रमा राम्रो पकड रहेको एवं एनआइसीको मध्यभागमा राम्रो पकड रहेको हुँदा मर्जपछि नेपालकै एक उत्कृष्ट बंैकभित्र पर्ने दाबी गरे । एनआइसी बैंकमा कुल ४ सय ५० र बैंक अफ एसियामा कुल ३ सय ५० गरी जम्मा ८ सय कर्मचारी छन् भने एनआइसी बैंकमा ३५ हजार एवं बैंक अफ एसियामा ५६ हजार सेयरधनी छन् ।
दुवै बैंकले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी दुवै बैंक मर्जमा जान लागेको सार्वजनिक गरेका थिए । एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले मर्जरका लागि नेपाल स्टक एक्सचेन्जमा सेयर रोक्काका लागि पठाइसकिएको बताए । एक्सचेन्जको सेयर रोक्का गरिसकेपछि शुक्रबार या आइतबारसम्म राष्ट्र बैंकमा सैद्धान्तिक सहमतिका लागि निवेदन दिने उनले जानकारी दिए । केन्द्रीय बैंकले १५ दिनभित्र बैंकले पेस गरेको निवेदनको अध्ययन गरी उपयुक्त लागेमा सैद्धान्तिक सहमति प्रदान गर्छ । सैद्धान्तिक सहमति गरेको ६ महिनाभित्र दुवै बैंकले ड्यु डिलिजेन्स अडिट गरी अन्य आवश्यक प्रक्रियासमेत पुर्‍याएपछि पुन: अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जानुपर्छ । राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेपछि मात्र गाभिएको बैंकका रूपमा कारोबार गर्न पाउँछ ।
दुई ठूला बैंक मर्ज भएपछि पुँजी आधारसमेत बलियो हुने हुँदा ठूला आयोजनामा समेत लगानी गर्न सहज हुने जोशीले बताए । यसबाट इकोनोमी अफ स्केल सिर्जना हुने र बैंक सञ्चालन लागतमा समेत कमी आउने उनको दाबी छ ।
बिओएका पूर्व प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीको करार अवधि ९ जेठमा सकिएको छ । बिओए र एनआइसी मर्जरमा जाने निश्चित भएपछि उनको करार नवीकरण नभएको बताइन्छ । तर, बिओए र क्षत्री स्वयम्ले भने यसलाई हल्ला मात्रै भनेका छन् ।
एनआइसी बैंकले २१ जुलाई १९९८ बाट कारोबार सुरु गरेको हो । बैंकमा ५१ प्रतिशत सेयर संस्थापन र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ । हाल बैंकमा ३४ हजार सेयर सदस्य छन् । हाल एनआइसीको चुक्ता पुँजी १ अर्ब ४३ करोड रुपियाँ छ । बिओएले २२औं वाणिज्य बैंकका रूपमा सन् २००७ अक्टोबर १२ देखि कारोबार सुरु गरेको हो । बैंकमा ७० प्रतिशत सेयर संस्थापन र बाँकी ३० प्रतिशत सेयर सर्वसाधारणको छ । बिओएको चुक्ता पुँजी २ अर्ब रुपियाँ छ । यी दुई बैंक मर्जरपछि कुल चुक्ता पुँजी ३ अर्ब ४३ करोड पुग्नेछ ।
एनआइसीले चैत मसान्तसम्म करिब २० अर्ब रुपियाँ निक्षेप संकलन गरी १६ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, बिओएले सोही अवधिसम्म करिब साढे १५ अर्ब निक्षेप संकलन गरी सवा १२ अर्ब कर्जा प्रवाह गरेको छ । एनआइसीका सञ्चालकमा जगदीशप्रसाद अग्रवाल, तुल्सीराम अग्रवाल, लोकमान्य गोल्छा, विशाल अग्रवाल, राजेन्द्र अर्याल, वीरेन्द्रकुमार संघाई र गणेशमान श्रेष्ठ रहेका छन् । त्यसमध्ये विशाल, जगदीश र तुल्सीराम विशाल समूहका प्रतिनिधि हुन् । त्यस्तै, बिओएको सञ्चालकमा अशोककुमार अग्रवाल, सतीशकुमार मोर, अनुज अग्रवाल, हेमबहादुर रावल, रामचन्द्र संघाई, विनोद प्याकुरेल र विनयकुमार श्रेष्ठ छन् । त्यसमध्ये अशोक, सतीश र अनुज विशाल समूहका प्रतिनिधि हुन् ।

प्रतिक्रिया