मल अभावले रोपाइँमा समस्या

कैलाली, १५ असार । मलको चरम अभावले यो वर्ष पनि सुदूरपश्चिमको रोपाइँ प्रभावित भएको छ । मल नपाएपछि किसनाले निर्धारित समयमा रोपार्इं गर्न सकेका छैनन् । रोपाइँ गर्ने समय भइसके पनि किसानले रासायनिक मल नपाएर मलविनै रोपाइँ गरेका छन् । रोपाइँ गर्नेबेला आवश्यक पर्ने डिएपी, युरिया र पोटास नपाएर ठूलो समस्या परेको जुगेडाका बलराम जेठाराले बताए ।
रोपाइँ गर्ने समय जेठदेखि असारसम्म भए पनि मल नपाएर समस्या परेको कृषकले बताए । कृषकले रोपाइँ गर्नेबेला रासायनिक मल नपाएपछि बालीनालीको उत्पादनमा गिरावट आउने कृषि प्राविधिक बताउँछन् । रोपाइँ गर्नेबेला मल नपाएपछि अरूबेला पाएर बालीनालीमा राख्नुको कुनै अर्थ नहुने उनीहरूको भनाइ छ ।
‘मल आउला रोपाइँ गराँैला भन्दै कुरेर बसेँ तर तत्काल मल नआउने देखेपछि त्यतिकै रोपाइँ गरँेँ,’ कृषक जेठार बताउँछन् । बालीनालीको उब्जनी बढाउन र कुनै रोग नलागोस् भनेर खेतबारीमा रासायनिक मल हाल्ने गरिन्छ । बजारमा मलको टड्कारो आवश्यकता भए पनि अझै तीन सातायता मल आउने कुनै सम्भावना नरहेको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त क्षेत्रीय प्रमुख दुर्गाप्रसाद पाण्डेले बताए ।
यस क्षेत्रमा चार हजार पाँच सय टन युरिया, तीन हजार टन डिएपी र पाँचसय टन पोटासको आवश्यकता रहेकामा हालसम्म सात सय ५० टन मलमात्र आएको पाण्डेले बताए । सुदूरपश्चिमका नौ जिल्लामध्ये कञ्चनपुर र डोटी जिल्लामा सिधै केन्द्रबाट मल पठाउने गरेको भए पनि बाँकी सात जिल्लामा भने धनगढीस्थित क्षेत्रीय कार्यालयले पठाउने गर्छ । यीमध्ये बझाङ, बाजुरा, अछाम र दार्चुला जिल्लामा सरकारले ढुवानी अनुदान दिएर जिल्लास्थित कृषि विकास कार्यालयमार्फत बिक्रीवितरण गर्छ । अन्य जिल्लामा सहकारीमार्फत बिक्रीवितरण गर्ने गरेको पाण्डेले बताए ।
आफूहरूले रासायनिक मलको लागि केन्द्रमा पहल गरिरहेको भए पनि उताबाट तत्काल पठाउन नसकिने जानकारी आएको पनि उनले जानकारी दिए । सुदूरपश्चिमका अधिकांश ठाउँमा १५ असारसम्म रोपाइँ गर्ने काम सकिने भएकाले अब मल आउनुको कुनै अर्थ नभएको उनको बुझाइ छ ।
पछिल्लो समय कृषकले खेतबारीमा रासायनिक मलको बढी प्रयोग गर्ने गरेका छन् । सोही कारण पनि मलको माग बढेको हो । रासायनिक मलसट्टा घरकै गोठे मल हाले पनि उब्जनीमा खासै बृद्धि नहुने र बालीनालीको वृद्धिविकास ढिलो हुने भएकाले कृषकहरू रासायनिक मलको प्रयोगप्रति आर्कषित भएका हुन् । तर, मल नपाएपछि उनीहरूको अवस्था नाजुक बनेको छ ।

५ प्रतिशतमा मात्रै रोपाइ
असारको पहिलो सातासम्म कैलालीमा पाँच प्रतिशत मात्र रोपाइँ भएको छ ।
पानी अभावमा सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा भएका ठाउँमा पनि अपेक्षित रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष कैलालीमा यो अवधिमा ५० प्रतिशत बढी रोपाइँ सम्पन्न भएको थियो ।
अधिकांश ठाउँमा आकासे पानीको भरमा रोपाइँ हुने भएकाले पानी नपर्दा यो वर्ष रोपाइँको काम ढिलो सुरु भएको छ । निर्धारित समयमा धान रोप्न नपाउँदा धान उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् । ब्याडमा धानको बेर्ना छिपिंदै गएपछि त्यति नै मात्रामा उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालय कैलालीका बाली विकास अधिकृत गिरीशराज जोशी बताउँछन् ।
गत वर्ष कैलालीमा ७१ हजार हेक्टर जमिनमा दुई लाख ३१ हजार पाँच सय ७५ मेट्रिकटन उत्पादन भए पनि यो वर्ष खडेरीले ढिला रोपाइँ सुरु हुँदा उत्पादनमा ठूलो असर पुग्ने सम्भावना रहेको जोशीको भनाइ छ । जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये ३९ हजार सातसय ८० हेक्टर जमिन मात्र सिञ्चित रहेको छ । किसानले राधा–४, सावित्री, जानकी, सर्जु–५० जस्ता जातका धान रोप्ने गरेका छन् । यी जातका धान अन्य जातभन्दा बढी फल्छ ।

गुणस्तरहीन मल आयत

रौतहट: रसायनिक मल अभाव भएपछि भारतीय बजारबाट गुणस्तरहिन मल तस्करीको माध्यमबाट नेपाल आउने गरेको छ । मध्य असारमा पनि मल अभाव भएपछि तस्करी मौलाएको हो । केही दिन देखी रासायनिक मलका लागी विभिन्न ठााउमा धाए पनि मल नपाएको गरुडा बैरियाका किसान रामनिवास साहले बताए । रौतहटका किसान मल अभावको कारण चिन्तीत भएका छन ।
कृषि सामग्री कम्पनी रौतहटका प्रमुख प्रताप शाक्यका अनुसार किसानलाई चाहिने रासायनिक मल आउन अझै एक साता भन्दा बढी लाग्ने भएको छ । धान रोप्ने बेलामा डिएपी मल चाहिने भए पनि कृषि सामग्री कम्पनीमा भने युरिया मल मात्रै रहेको छ । विरगंज स्थीत सुख्खा बन्दरगाहमा आइतवार सम्म मल आउने सम्भावना रहेको शाक्यले बताए । कृषि सामग्रीमा मल आए पनि किसानले सिधै मल किन्न भने सहकारी मा जानुपर्ने हुन्छ । जिल्लामा रहेको विभिन्न सहकारीले मल विक्रि वितरणको जिम्मा पाएका छन ।
केही तस्करले रौतहटको भारतसाग सिमा जोडिएका बंकुल, लक्ष्मीपुर बेलबिछवा, औरैया, मठिया, नरकटीया नाका बाट गुणस्तरहिन भारतिय डिएपी मल बजारमा भित्राइरहेका छन । भारतबाट तस्करी गरी ल्याइएका डिएपी १८४६ तथा डिएपी २०२० मल अहिले सबै भन्दा बढी बिक्री भइरहेको छ । कृषकले आफै सिमापारी भारत गएर मल ल्याउन खोज्दा सिमामा रहेका भारतीय एस एस बी का जवानले कुटपीट गर्ने भएकोले तस्करले ल्याएको मल महङ्गोमा किन्न उनिहरु बाध्य छन ।
प्रति बोरा दुई हजार देखी पच्चीस सय रुपिया सम्ममा भारतीय मल विक्री भइरहेको छ । नेपाली मलको बोरामा राखिएका भारतीय मललाई नेपाली मल भन्दै ठगी रहदा पनी सम्बन्धीत निकाय मौन रहेको आरोप स्थानिय हरिशंकर साहको छ ।
प्रहरी प्रशासनको मिलेमतोमा तस्करले अहिले व्यापक रुपमा ट्रयाक्टर तथा टायरगाडामा राखी भारतिय मल नेपाल भित्राइरहेका छन । रौतहटको मध्य भागमा पर्ने गरुडा बजार मल तस्करीका लागी सबै भन्दा सुरक्षित स्थान बनेको छ भने सदरमुकाम गौर लगायत अन्य स्थानबाट पनि मल तस्करी भइरहेको छ ।
रासायनिक मल तस्करीका बारेमा प्रशासनले आफूलाई कुनै जानकारी नभएको र किसानले निजी प्रयोगको लागी आफैले एक दुई बोरा साइकलमा राखेर ल्याउने गरेकोमा भने रोकटोक नगरेको बताएको छ ।

प्रतिक्रिया