नायिकाद्वारा साइबर क्राइममा उजुरी

काठमाडौ, १५ असार । नायिका विनिता बराल र मोडल दिक्पाल कार्कीविरुद्ध महानगरीय प्रहरीपरिसर हनुमानढोका साइबर क्राइममै अर्को उजुरी परेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील गाली र धम्की दिएको आरोपमा नायिका दीपशिखा खड्काले बिहीबार बेलुका ४ बजे उजुरी दर्ता गराएकी हुन् ।

महानगरीय प्रहरीपरिसर मुद्दा फाँटका प्रहरी निरीक्षक कृष्ण पंगेनीका अनुसार नायिका बराल र मोडल कार्कीलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ । विनिता र दिक्पाल सँगै बसेर अश्लील म्यासेज गरेको देख्ने ६ जना साक्षीसहित दीपशिखा हनुमानढोकामा पुगेकी थिइन् । उनको उजुरीमा विनय डिसी, सगुन केसी र मी दिक्पालजस्ता फेसबुक आइडीबाट अश्लील गालीगलौज र धम्की आएको उल्लेख छ ।
यसअघि नायक राज घिमिरेको उजुरीमा पक्राउ परेका दिक्पाल बिहीबार सात हजार रुपियाँ धरौटीमा छुटेका छन् । दिक्पाल पक्राउ परेपछि मात्र यी आइडीमार्फत धम्क्याउने व्यक्ति उनी रहेको आफूले थाहा पाएको नायिका खड्काले सौर्यलाई बताइन् । फेसबुक फ्रेन्ड बनेको ६ महिनादेखि लगातार यस्ता किसिमका म्यासेज आउने गरेको उनको भनाइ छ ।
यसअघि गत ६ असारमा चपलीहाइटका नायक घिमिरेले आफूलाई फेसबुकमार्फत अश्लील गाली र ज्यान मार्नेसम्मको धम्की दिइएको भन्दै जावलाखेलस्थित महानगरीय प्रहरीपरिसरमा उजुरी दिएका थिए । उजुरीमा दिक्पाल र विनितालाई नै आरोप लगाइएको थियो ।
उजुरीलगत्तै कार्कीलाई त्यसैदिन साँझ नयाँ बानेश्वरस्थित जिरोप्वाइन्ट साइबरबाट प्रहरीले पक्राउ गरेको थियो । राजको समर्थनमा केही फिल्मकर्मी र दिक्पालका केही साथीहरूले समेत विभिन्न आइडी खोलेर धम्क्याउने व्यक्ति दिक्पाल कार्की नै भएको बताएका थिए ।
त्यसपछि विनितालाई प्रहरीले सोधपुछ गरी छाडेको थियो भने दिक्पाललाई ७ दिन म्याद थपेर सार्वजनिक मुद्दामा हिरासतमा राखेको थियो । उनलाई बिहीबार सात हजार रुपियाँ धरौटीमा जिल्ला प्रशासन कार्यालयले तारेखमा छाडेको हो ।
फेसबकबाट आधा दर्जनभन्दा बढी कलाकारलाई अश्लील गाली तथा धम्की दिएको भन्दै चलचित्र निर्माता राजेश घतानी, चलचित्र लेखक शिवम् अधिकारी, नायक यशराजलगायत पुगेका थिए । यीबाहेक ऋषि लामिछाने, आलोक नेङवाङलगायतलाई पनि यही फेसबबुक आइडीमार्फत धम्क्याएको खुल्न आएको छ ।
विनितालाई चिन्दिन
–दिपशिखा खड्का
नायिका विनिता र दिक्पाल कार्कीसँग कहिलेदेखिको चिनजान हो ?
— विनितासँग त मेरो कुनै चिनजान र सम्बन्ध नै छैन । दिक्पालसँग पनि ६ महिनाअगाडि त्यो दस घन्टा फिल्मको रिलिजबाट परिचय भएको हो । उसँग पनि मेरो खासै त्यस्तो कुराकानी हुँदैनथ्यो । फेसबुकमा उसले चाहिँ एकतर्फी रूपमा हाइ–हेल्लो गरिरहन्थ्यो । उसँग मेरो फोन कन्टयाक्ट पनि थिएन । उसले मलाई दीपशिखाजी भनेर सम्बोधन गथ्र्यो । विनितासँग त मेरो गोरुबेचेको साइनो पनि छैन ।
दिक्पालसित कहिलेदेखि फेसबुकमा फ्रेन्ड हुनुहुन्छ ?
— दिक्पालसँग त्यो चिनजानपछि म फ्रेन्ड थिएँ । मैले उसलाई मी दिक्पालमा एड गरेकी थिएँ । उसँग फ्रेन्ड भएको केही दिनपछि सगुन केसी र विनय डिसीको नामबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो । सगुन केसी नामको फेसबुकबाट चाहिँ सुरुमै गालीगलौजका म्यसेज आउने भएकाले मैले केही महिनापछि लिस्टबाटै हटाइदिएँ । विनय डिसीको चाहिँ फोटो पनि राम्रो थियो र मान्छे पनि राम्रै होला भनेर फ्रेन्ड लिस्टबाट हटाइन । तीन महिनाअगाडि पाल्पा गएका बेला फेसबुक चलाउन पाइएन । पछि उताबाट आएर फेसबुक हेर्दा त गालीगलौजका म्यासेज पाएँ ।
फेसबुकमा कस्ता–कस्ता म्यासेज आउँथे ?
— अहो, म त्यो कल्पनै गर्न सक्दिनँ । हनुमानढोकाको एसएसपीले गालीगलौज गरेका शब्द पढ्नै सक्नुभएन । साले खातेहरु, फिल्म लाइनमा लागेर मै हुँ भन्ने भन्दै गाली दिन्थ्यो । मा… भन्ने मु… भन्ने । मेरो यो खा त्यो खा भन्ने ।
पहिल्यै किन उजुरी नहाल्नुभएको ?
— मान्छे नचिनी उजुरी कसलाई गर्ने ? मैले यसअगाडि पनि विनय डिसी नामको व्यक्तिलाई खोजिरहेकी थिएँ । अहिले आएर विनय डिसी, मी दिक्पाल र सगुन केसी नामको फेसबुक चलाउने व्यक्ति दिक्पाल कार्की हो भन्ने थाहा पाएपछि मैले उजुरी हालेकी हुँ ।

प्रतिक्रिया