कब्जा गरिएको जग्गा फिर्ता भएन

नेपालगन्ज, १५ असार । शान्तिप्रक्रियामा आएपछि माओवादीले कब्जा गरिएको जग्गा फिर्ता गर्ने बताए पनि बर्दिया, बाँके र दाङका किसानले जग्गा फिर्ता पाएका छैनन् । एकीकृत नेकपा (माओवादी)बाट विभाजन भएको नेकपा–माओवादीले सम्पत्ति कब्जा अभियान सञ्चालन गर्ने जनाएपछि मध्यपश्चिमका किसान थप त्रसित भएका छन् ।

सुरुदेखि नै कब्जा गरिएको घरजग्गा फिर्ताको विरोध गर्दै आएको मोहन वैद्य समूहले नयाँ पाटी स्थापना गरेर जनविद्रोहमा जाने चेतावनी दिएपछि सम्पत्ति कब्जा भएका पीडितमा त्रास छाएको हो ।
मुलुकमै सबैभन्दा बढी सम्पत्ति कब्जा भएको बर्दियाका किसान यतिखेर सबैभन्दा त्रसित छन् । ‘संविधान बन्ला र कब्जा जग्गा फिर्ता पाइएला भन्ने आशामा बसेका थियौँ,’ बर्दिया मनाउका दीपनारायण श्रेष्ठले भने, ‘संविधान नबन्दा निराशा त छाएकै थियो, माओवादी फुटेपछि फेरि जग्गा कब्जा अभियान सुरु हुने भयले सताएको छ ।’ श्रेष्ठ नेपालगन्जमा बस्दै आएका छन् ।
उनले माओवादीभित्रको अन्तर्कलहले आफूहरू मारमा परेको बताए । ‘पहिले पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षले कब्जा जग्गा फिर्ता गर्ने भन्दा मोहन वैद्य समूहले मानेको भए सबैको जग्गा फिर्ता भइसक्थ्यो,’ श्रेष्ठले भने, ‘अब वैद्य अलग भएपछि कब्जा भएको जग्गा कहाँ फिर्ता होला र ?’ भट्टराई प्रधानमन्त्री भएलगतै दाहालसहितको टोली जग्गा फिर्ता गराउन बर्दिया आए पनि वैद्य पक्ष नै विरोधमा उत्रिएकाले माओवादी आफैँले घोषणा गरेको जग्गा फिर्ता अभियान सफल भएको थिएन ।
नवगठित नेकपा–माओवादीले माओवादीभित्र नेताहरूले कमाएको स्रोत नखुलेको सम्पत्ति पनि नियन्त्रणमा लिने जनाएको छ । माओवादीका थारुवान राज्य समिति सचिवालय सदस्य आइपी खरेलले फेरि सम्पत्ति कब्जा अभियानको तयारी भइरहेको बताए ।
‘सम्पत्ति कब्जाको कुरा काठमाडौंको भेलामा छलफल भसकेको छ,’ उनले भने, ‘कब्जा अभियान घोषणा हुनमात्र बाँकी छ ।’ बाँके जिल्लाको कार्यभारसमेत सम्हालेका खरेलले घोषणालगत्तै जग्गा कब्जा थालनी हुने बताए । उनले हालसम्म कब्जामा रहेको सम्पत्ति कब्जामै रहिरहने र बेचबिखन गर्न नपाइने तथा जतिले कमाएका छन्, स्रोत नखुलेका सम्पत्ति पनि कब्जा गरिने बताए । अवैध ढंगले कमाएको सम्पत्ति एकीकृत माओवादीकै भए पनि नछाडिने उनले बताए ।
बर्दियामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि दर्जनभन्दा बढी पूर्व विधायकसम्मका घरजग्गा माओवादीको कब्जामा रहेको छ । ‘विस्थापित घर फर्काऊ’ अभियान शान्ति सञ्जालका अध्यक्ष प्रमोद उपाध्यायका अनुसार बर्दियामा तीन सय ५४ परिवारको एक हजार आठ सय १९ बिघा जमिन माओवादी कब्जामा छ । यसमध्ये केहीले भने जग्गा बिक्री गरिसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले संकलन गरेको नयाँ तथ्यांकअनुसार बर्दियामा दुई सय ६४ परिवारको कब्जा भएको जग्गामध्ये ९४ परिवारको फिर्ता भएको तर एक सय ७० परिवारको घरजग्गा माओवादी कब्जामा रहेको पाइएको छ । बर्दियाका सिडिओ यज्ञराज बोहराले भने, ‘धेरैको जग्गा कब्जामा छ, केहीले भित्रभित्रै बिक्री पनि गरिरहेका छन् । अहिले यहाँ माओवादीले जग्गा कब्जा गरेको गुनासो आएको छैन ।’
बर्दिया मनाउका मधुसूदन रिजालले कब्जा गरिएको सम्पत्ति फिर्ता गरिदिन आग्रह गरेका छन् । संविधान निर्माणपछि सम्पत्ति फिर्ता हुने आशा पलाए पनि नेकपा (माओवादी)को फेरि सम्पत्ति कब्जा गर्ने खबरले दु:खित तुल्याएको उनले बताए । रिजालको बर्दियाको मनाउमा नौ बिघा जग्गा कब्जामा छ । बर्दियाको राजापुर टप्पुमा पर्ने मनाउ गाविसमा सबैभन्दा बढी जग्गा कब्जा भएको छ ।
जग्गा फिर्ताको माग गर्दै परेका ६३ जनाका निवेदनमाथि छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । नेकपा (एमाले)का समसुद्दिन सिद्धिकीको पनि बाँके बैजापुरको जग्गा कब्जा भएको छ । एकीकृत नेकपा (माओवादी)का बाँके सचिव डम्बर विकले बाँकेको हकमा माओवादीको नाममा जमिन कब्जा रहन नदिने बताए । उनले अन्यायपूर्ण तरिकाले कब्जा भएका सम्पत्ति फिर्ता भइसकेको र जमिन कब्जा भएको बताउँदै कोही आए किसानसँग छलफल गराएर फिर्ता गराइने बताए ।

प्रतिक्रिया