बिकल्प आए भट्टराईले पद त्याग्छनः बोगटी

काठमाडौं, १४ असार । पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटीले कांग्रेस र एमालेका कारण प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारको आयू लम्बिएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा ए माओवादीका सचिव समेत रहेका बोगटीले राजनीतिक निकासका विषयमा कांग्रेस र एमालेले कुरा गर्न नमान्दा सरकारको आयू लम्बिएको बताए । उनले भने, ‘सम्वादमा आउनु पर्छ, प्रधानमन्त्रीको राजीनामा मात्रै माग्नु हुँदैन ।’
उनले नयाँ प्रधानमन्त्रीको विकल्प लिएर आए भट्टराई एक दिन पनि पदमा नबस्ने बताए ।
कांग्रेस नेतृत्व एमाओवादीले स्वीकारी सकेको स्पष्ट पार्दै सचिव बोगटीले संघीयता सहितको संविधानमा सहमति भए प्रधानमन्त्री भट्टराईले तत्कालै सरकार छाड्ने बताए ।
उनले साउन–१ गते बस्ने विस्तारित बैठकले पार्टीको रिक्त पदाधिकारी र अन्य पदमा जिम्मेवारी बाँडफाँड गर्ने बताएका छन् ।
एमालेका पोलिटब्यूरो सदस्य प्रदीप नेपालले नेपालमा संघीयता आवश्यक नभएको बताए । उनले एमाले समेत संघीयताबाट पछाडि फिर्ता हुने दावी गरे ।
‘संघीयता सम्भव छैन,’ उनले भने, ‘एमालेलाई संघीयताबाट ब्याक गराउन बहस सृजना गर्नु पर्छ ।’

प्रतिक्रिया