परिदृश्य साकोसमा तीन करोड घोटाला

काठमाडौं, १४ असार । परिदृश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) का अध्यक्ष रामबहादुर बस्नेतले निक्षेपकर्ताको रकम हिनामिना गरेपछि बचतकर्ता बिचल्लीमा परेका छन् । उनले दुई सय निक्षेपकर्ताको तीन करोड रुपियाँभन्दा बढी घोटाला गरेको आरोप लगाइएको छ ।

तीमध्ये संस्थाका ६५ जना सदस्यले बुधबार महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी दिएका छन् । उनीहरूको एक करोड १९ लाख ६२ हजार चार सय ७१ रुपियाँ रहेको छ । २५ वैशाख ०६९ मा डिभिजन सहकारी कार्यालय काठमाडौंमा निक्षेपकर्ताले निवेदन दिएको र कार्यालयले २६ गते प्रहरीसमक्ष सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।
अध्यक्ष बस्नेतलाई कालीमाटी प्रहरीमा कागज गराई निक्षेप फिर्ता गर्ने सर्तमा छाडिएको थियो । एक लाखभन्दा कम निक्षेप हुनेलाई ३५ दिन र लाख बढी हुनेलाई ४५ दिनभित्र फिर्ता गर्ने सर्त भएको पीडित माझीले बताए । तर, सो सर्तअनुसार रकम नपाएपछि उजुरी दिएको पनि उनले बताए । ‘संस्थाले विभिन्न उपहार योजना ल्याएर निक्षेप संकलन गरेको थियो,’ माझीले भने, ‘संस्थामा मेरो चार लाख ६५ हजार रुपियाँ निक्षेप छ ।’ एलजीको ३२ इन्चको टिभी दिने अफरमा निक्षेप जम्मा गरेको उनी बताउँछन् ।
यसअघि कालीमाटी कार्यालय भएको सो संस्थाले हाल रविभवनमा अफिसका सामान मात्र राखेको पनि उनले बताए । उनका अनुसार अध्यक्ष बस्नेत निक्षेप संकलन गरी कर्जा लगानी नगरी आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । मकवानपुरमा रहेको प्रतिध्वनी एफएममा पनि उनको लगानी रहेको उनले बताए ।
कालीमाटीस्थित सो सहकारी ०६४/०६५ मा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । सहकारीमा रामकाजी श्रेष्ठको ४० लाख रहेको छ । झन्डै दुई सयभन्दा बढी निक्षेपकर्ताको करिब तीन करोड घोटाला भएको छ । सम्पर्कविहीन रहेका सञ्चालकलाई पक्राउ गर्न डिभिजन सहकारी कार्यालय र प्रहरीसमेतले सहयोग नगरेको उनीहरूको गुनासो छ ।
संस्थाका अध्यक्षसहित सञ्चालक समितिका अन्य सदस्य करिब तीन महिनादेखि सम्पर्कमा नआएका पीडितले बताएका छन् । उनीहरूका अनुसार तीन महिनादेखि नै सहकारी संस्थाको कार्यालय बन्द रहेको र निक्षेप फिर्ताका लागि सञ्चलकसँग सम्पर्क हुन सकेको छैन ।
डिभिजन सहकारी कार्यालय काठमाडांैले हालसम्म कुनै पनि सञ्चालक सम्पर्कमा नआएको बताएको छ । संस्थाको हालसम्म वार्षिक प्रगति विवरण नआएको र आर्थिक वर्ष ०६७/६८को साधारणसभा तथा लेखापरीक्षण नगरेको, सञ्चालक समितिको बैठक नबसेको, मासिक विवरण बुझाएको कागजात नआएको डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । ‘डिभिजन सहकारी कार्यलयमा उजुरी आएका आधारमा पक्राउ गर्न महानगरीय प्रहरी परिसर हनुमान ढोकालाई पत्र पठाएको थियौँ,’ शर्माले भने, ‘हालसम्म कुनै सञ्चालक पक्राउ पर्न सकेका छैनन् ।’
संस्थाका सञ्चालकमा उपाध्यक्ष केदार राणा, सचिव कृष्ण बस्नेत, कोषाध्यक्ष मनोहर बस्नेत छन् । त्यस्तै सदस्यहरूमा क्रमश: सुरेन्द्रमान प्रधान, सुरेन्द्र कार्की, विनोद काजी श्रेष्ठ र प्रेम केसी रहेका छन् ।

प्रतिक्रिया