तीन कम्पनी आन्तरिक वायुसेवा सञ्चालन गर्दै

काठमाडौं, १४ असार । नेपालमा आन्तरिक वायुसेवा त्यति सफल नदेखिए पनि लाइसेन्स लिने क्रम भने रोकिएको छैन । पछिल्लो ६ महिनामा मात्र तीनवटा कम्पनी आन्तरिक वायुसेवा सञ्चालनको तयारीमा छन् ।

तीनवटै कम्पनीले सुगम गन्तव्य (ट्रंक रुट) मा उडान गर्ने गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लाइसेन्सका लागि आवेदन दिएका छन् । विराटनगर, भद्रपुर, सिमरा, नेपालगन्ज, धनगढीलगायत आठवटा गन्तव्यलाइ ट्रंक रुटका रूपमा लिइन्छ । यी विमानस्थलमा उडान गर्न दुईवटा एटिआर र दुईवटा बिचक्राफ्ट जहाज ल्याउने ब्लु एयरवेजले दाबी गरेको छ । त्यस्तै नमस्ते एयरले पनि सुगम गन्तव्यमा उडान गर्न अनुमति मागेको छ ।
राजु खत्री अध्यक्ष रहेको नमस्ते एयरले दुईवटा एटिआर ४२ र एउटा एटिआर ७२ नामक जहाज सञ्चालन गर्ने योजना पेस गरेको छ । सञ्चालनको १० वर्षपछि मात्र बुद्ध एयरले दुईवटा एटिआर ७२ जहाज आन्तरिक उडानका लागि ल्याएको छ । त्यस्तै यती एयरलायन्सले पनि राम्रो सुविधा भएका जेटस्ट्रिम जहाजबाट सेवा दिइरहेको छ ।
यसै साता आन्तरिक उडानका लागि अर्को कम्पनीले मन्त्रालयमा आवेदन दिएको छ । सुगम गन्तव्यमा उडान गर्ने योजनासहित सौर्य एयरलायन्स प्रालिले आवेदन दिएको हो । रोमनाथ घिमिरे अध्यक्ष रहेको कम्पनीले डोर्नियर जहाज ल्याउने योजना मन्त्रालयमा पेस गरेको मन्त्रालयले जनाएको छ ।
सौर्यले लाइसेन्स पाएमा हवाई सेवा सञ्चालन अनुमति पाएका आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीको संख्या १८ पुग्ने मन्त्रालयका अधिकृत प्रमोद नेपालले जानकारी दिए । अहिले बुद्ध, यती, गुण र अग्नि एयरले सुगम गन्तव्यमा सेवा सञ्चालन गर्दै आएका छन् । त्यस्तै सुगम तथा दुर्गम दुवै क्षेत्रमा उडान गरिरहेका आन्तरिक वायुसेवा कम्पनीका संख्या १६ छन् । त्यसमध्ये १० वटा फिक्स्डविङ जहाज कम्पनी छन् भने ६ वटा हेलिकोप्टर कम्पनी रहेका छन् ।
आन्तरिक उडान गर्न चाहने वायुसेवा कम्पनीले १५ करोड रुपियाँको चुक्ता पुँजीसहित २० लाख बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान छ । सुगममा उडान गर्न चाहने वायुसेवा कम्पनीले रोयल्टीबापत प्रत्येक रटका लागि थप ३० हजार शुल्क बुझाउनुपर्छ । आन्तरिक वायुसेवा सञ्चालनको अनुमतिपत्रको अवधि चारवर्ष हुन्छ ।
हाल नेपालमा आन्तरिक हवाई सेवा सञ्चालनका लागि करिब ६० अर्ब रुपियाँ लगानी भइसकेको वायुसेवा सञ्चालक संघ (आयोन) को अनुमान छ । राज्यले बर्सेनि २० करोड रुपियाँभन्दा बढी राजस्व निजी वायुसेवा कम्पनीबाट प्राप्त गरिरहेको छ ।
वायुसेवा सञ्चालन सौखको विजनेस नभएर जोखिमपूर्ण हुने विज्ञ बताउँछन् । आयोनले समेत नयाँ कम्पनीलाई हचुवाका भरमा लाइसेन्स दिन बन्द गर्नुपर्ने बताउँदै आएको छ ।
नेपालमा आन्तरिक हवाई सेवा करिब २५ प्रतिशत मात्र स्थायी भएको विज्ञहरूको भनाइ छ । बढ्दो खर्च र प्रतिस्पर्धाका कारण आन्तरिक वायुसेवा कम्पनीहरू समस्यामा छन् । त्यस्तै विभिन्न समयमा हुने दुर्घटनाका कारण प्रिमियम बढिरहेको छ । मुलुकभित्रै आवश्यक प्राविधिक उपलब्ध नहुनु तथा समयमै मर्मतसम्भार हुन नसक्नुले लामोसमय जहाज थन्काउनुपर्ने बाध्यता नहटेको सञ्चालक बताउँछन् । देशमै दक्ष जनशक्ति नहुँदा हालै मात्र गुण एयरलायन्स तीन महिना बन्द भयो । ‘यस्तो अवस्थामा नयाँ आउनेले धेरै सोचेर आउनुपर्छ, यो लहडका भरमा चल्ने बिजनेस होइन,’ गुणका बजार निर्देशक प्रज्वल थापा भन्छन् । जहाजको मूल्य बढिरहेका कारण नयाँ ल्याउन पनि गाह्रो हुने र लिजमा ल्याउने प्रक्रिया पनि झञ्झटिलो भएका कारण लाइसेन्स लिएर पनि सञ्चालनमा आउन नसकेको सरोकारवालाहरू बताउँछन् ।
यसअघि आन्तरिक उडानको लाइसेन्स पाइसकेका हाम्रो एयर सर्भिस प्रालि, आकाश भैरव र स्विफ्ट एयरले सेवा सञ्चालनको कुनै संकेत देखाएका छैनन् । व्यावसायिक रूपमा एउटा एयरलाइन्स चलाउन कम्तीमा ५० करोड रुपियाँ चालु पुँजी चाहिन्छ । सन् १९५८ मा पहिलोपटक नेपाल वायुसेवा निगमले आन्तरिक उडान थालेको थियो । सन् १९९० मा आएको खुला आकाश नीतिसँगै सन् १९९४ देखि निजी वायुसेवाको प्रारम्भ भएको हो ।

प्रतिक्रिया