संविधानसभा व्युताई देउ

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका पूर्व सभासदहरुले संविधानसभा पुनःस्थापनाको मागलाई पार्टीको एजेण्डा बनाउन नेतृत्वलाई दबाव दिने निर्णय गर्दै अभियान शुरु गर्ने जनाएका छन् ।
कांग्रेसका पूर्व सभासदहरुको आज सिंहदरवारमा भएको भेलाले संविधानसभा पुनःस्थापना मुद्दा एजेण्डा बनाउन अभियान शुरु गर्ने निर्णय गरेका हुन् । नयाँ संबिधान जारी नभई संविधानसभा भंग भएकाले संविधान जारी गर्नका लागि संविधानसभा पुनःस्थापना एक मात्र विकल्प भएको निस्कर्ष निकालेको पूर्व सभासदहरुले बताएका छन् ।
भेलाले सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई संविधानसभा पुनःस्थापनाको मागलाई पार्टीको औपचारिक मुद्दा बनाउन दबाव सृजना गर्न ज्ञापन पत्र बुझाउने निर्णय पनि गरेको छ ।
पुनःस्थापित संविधानसभाले संविधान संशोधन गरेर संसदीय निर्वाचनका लागि समेत मार्ग प्रशस्त गर्न सक्ने कांग्रेस सभासदहरुको ठहर छ ।
भेलामा कांग्रेसका करिव ७० जना पूर्व सभासदहरुले पुनःस्थापनाका लागि हस्ताक्षर समेत संकलन गरेका छन् । पार्टीले संविधानसभा पुनःस्थापनका विषयमा अधिकारिक रुपमा केही बताएको छैन ।
भेलामा पूर्व सभासदहरु जीवनप्रेम श्रेष्ठ, मोहन पाण्डे, कमला पन्त, विना पौडेल, हीरा गुरुङ, उषा गुरुङ, महा नेपाली, देबराज जोसी, तिर्थराम डङगोल, ध्यानगोविन्द रञ्जीत लगायतको सहभागिता थियो ।

प्रतिक्रिया