‘चीनको संयमलाई कमजोरी नबुझ’

बेइजिङ, १३ असार । ‘साउथ चाइना सी’सम्बन्धी विवादमा चीनको संयमतालाई कमजोरीका रूपमा नलिन एक चिनियाँ अधिकारीले चेतावनी दिएका छन् । चीन भ्रमणमा रहेका भारतीय संवाददाताहरूसँग त्यहाँका पररास्ट्र मन्त्रालयअन्तर्गतको ‘चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिज’का वरिष्ठ अनुसन्धानकर्ता जिया सिडोङले यस्तो बताएको भारतीय समाचार एजेन्सी आइएएनएसले मंगलबार जनाएको छ ।
‘चीनको संयमतालाई सार्वभौमिकतामाथिको अतिक्रमणप्रतिको उसको स्वीकृतिको संकेतका रूपमा नबुझ्न म सबैलाई प्रस्ट पार्न चाहन्छु,’ उनले भने । भियतनामसँग मिलेर चीनले स्वामित्व दाबी गरेको ‘साउथ चाइना सी’का कतिपय टापुमा भारतले तेल उत्खनन् परियोजना सञ्चालन गर्न खोजेपछि विवादमा नमुछिन चीनले भारतलाई चेतावनी दिएको थियो । चीन रुष्ट हुने देखेपछि भारतले ‘साउथ चाइना सी’बाट हात झिकिसकेको छ । तर पनि चीन भ्रमणमा रहेका भारतीय सञ्चारकर्मीसमक्ष चीनको सरकारी अनुसन्धानकर्ताले राखेको यस्तो कडा भनाइलाई भारतीय सञ्चारमाध्यमहरूले चासोपूर्वक प्रकाशन गरेका छन् ।
‘साउथ चाइना सी’ को आयल ब्लक नम्बर १२८ बाट पछि हट्न वैशाख अन्त्यतिर भारतको विदेश मन्त्रालयले राज्य नियन्त्रित ओएनजिसी विदेश लिमिटेड (ओभिएल) लाई अनुमति प्रदान गरेर विवादित क्षेत्रबाट पछि हट्ने संकेत गरेको थियो । ब्लक नम्बर १२८ मा समुद्री पिँध अत्यन्त कडा भएकाले उत्खनन् कार्य गाह्रो भएकाले प्राविधिक एवं व्यापारीक लाभहानिको गणना गरी तेल उत्खनन् नगर्ने निर्णय लिएको भारतले जनाएको थियो । यद्यपि, चीनले आºनो सार्वभौमिकता दाबी गरेको जलक्षेत्रमा भारतको प्रवेशलाई नरुचाइरहेका बेला लचिलो हुने भारतको कदमलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको थियो ।
‘‘साउथ चाइना सी’ र यसका सहायक जल क्षेत्र चीनको मुख्य सरोकारका क्षेत्र हुन् । यस क्षेत्रमा उत्तेजना फैलाउने कार्य हामीलाई स्विकार्य हुने छैन,’ जियाले भने । तर, चीनले ‘साउथ चाइना सी’ का सम्पूर्ण भू–भागमाथि स्वामित्व दाबी नगरेको उनले प्रस्ट पारे । समुद्र वरिपरिका टापु र जल क्षेत्रमा उत्तेजना फैलाउने कार्य चीनलाई कदापि सैह्य नहुने उनले जानकारी दिए ।
‘अरूले के सोच्छन् भन्ने पर्वाह नगरी चीनले सार्वभौमिकतासँग जोडिएका विषयमा तत्काल अथवा भविष्यमा आवश्यक कदम चाल्नेछ,’ भियतनाम र फिलिपिन्सले कतिपय समुद्री टापुमा तेल उत्खनन् परियोजना गर्न लिएको अग्रसरतालाई ‘उत्तेजना फैलाउने कार्य’को संज्ञा दिँदै उनले भने ।
अमेरिकालगायतका राष्ट्रले ‘साउथ चाइना सी’मा खुला आवतजावतको अधिकार सुनिश्चित गर्न माग गरिरहेका बेला उनले ‘आवतजावतको स्वतन्त्रता’ कुनै विषय नै नभएको जिकिर गरे । ‘विगतमा आवतजावतको स्वतन्त्रता ठूलो विषय थिएन । तर, अमेरिका र जापानले यसलाई अनावश्यक रूपमा ठूलो पार्न खोजिरहेका छन्,’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया