सर्वसाधारण सताउने प्रहरी निरीक्षकको सरुवा

दाङ, १२ असार । दाङको देउखुरीमा सर्वसाधार माथि ज्यादती गरेको आरोपमा विवादमा परेका इलाका प्रहरी कार्यालय लमहीका निरीक्षक बेदप्रकाश जोशीको सरुवा भएको छ । स्थानीय सर्वसाधारणलाई धम्काउने, विनाकारण पैसा माग्ने लगायतका आरोप लागेका जोशीलाई कारबाही स्वरुप सरुवा गरिएको हो ।
केही दिन पहिला सोनपुर–८, जोगपुरका बाढी पीडितहरुको वस्तीमा पुगेर प्रहरी निरीक्षक जोशी नेतृत्वको टोलीले लगातार तीनरातसम्म विना कारण सर्वसाधारणलाई आतंकित बनाएका थिए । सो क्रममा उनले गाउँमा छापा समेत मारेका थिए ।
प्रहरी निरीक्षक जोशीले स्थानीय गाउँलेबाट एक लाख रुपियाँ उठाएर लगेको आरोप समेत लागेको छ ।
सो विषयमा अध्ययन र छानविन गर्न जिल्ला प्रहरी कार्यालय दाङले प्रहरी निरीक्षक विपिनकुमार कर्माचार्यको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । सो प्रतिवेदनका आधारमा निरीक्षक जोशी दोषी पाईएपछि कारबाही स्वरुप सरुवा गरिएको हो ।
छानविन समितिले निरीक्षक जोशीले स्थानीयलाई धम्काउने, त्रसित पार्ने काम गरेको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले जोशीले जनतासँग राम्रो व्यवहार र सम्बन्ध राख्न नसकेको पनि जनाएको छ ।
‘जनतासँग राम्रो सम्बन्ध नराखेको पाए पछि जोशीलाई लमही इलाका प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएका हौं,’ दाङका प्रहरी प्रमुख एसपी गणेशबहादुर ऐरले भने, ‘लामहीमा अर्को व्यक्ति पठाउछौं ।’
निरीक्षक जोशीको सुदूरपश्चिम क्षेत्रीय तालिम केन्द्र दिपायलमा सरुवा भएको छ । उनको स्थानमा प्रहरी आयुक्तको कार्यालय काठमाडौंवाट वावुकाजी गिरी आएका छन् । गिरीले आइतवारदेखि कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया