मापदण्डविपरीत एम्बुलेन्स सञ्चालन

सुर्खेत, १२ असार । सुर्खेतमा सञ्चालित सबै एम्बुलेन्स मापदण्डविपरीत रहेको पाइएको छ । सरकारले एम्बुलेन्स सञ्चालन नीति २०६० लागु गरे पनि यहाँ सञ्चालित एम्बुलेन्सले मापदण्ड पूरा नगरेका हुन् ।

नीतिमा एम्बुलेन्सको सेवा र सुविधा हेरेर क, ख र ग वर्गमा विभाजन गरिएको छ । सुर्खेतमा रहेका सबै एम्बुलेन्सका सेवा र सुविधा वर्गविहीन छन् । सञ्चालनमा रहेका एम्बुलेन्समा तोकिएका मापदण्डअनुसार औषधि, प्राथमिक उपचार, उपकरण तथा जनशक्ति छैनन् ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले एम्बुलेन्स सेवालाई स्तरीय बनाउन तथा नियमित र भरपर्दो नियमन गर्ने छुट्टै नीति र संयन्त्र निर्माण गरेको छ । जिल्लामा सिडिओको संयोजकत्वमा जिल्ला स्वास्थ्य कार्यालय, क्षेत्रीय अस्पताल, नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि रहने गरी एम्बुलेन्स सञ्चालन समिति गठन गरिएको छ । एम्बुलेन्सले मापदण्ड पूरा गरे/नगरे पनि समितिले अनुगमन गर्नुपर्दछ ।
सरकारले निर्धारण गरेको वर्गमै नपरेका एम्बुलेन्स निर्वाध रूपमा सञ्चालन गरिरहे पनि समितिले अनुगमन र कारबाही गरेको छैन । कानुनअनुसार अति गम्भीर प्रकृतिका बिरामी ओसारपसार गर्न ‘क’ वर्गको एम्बुलेन्स चाहिन्छ । यस्तो वाहनमा अत्यावश्यक उपकरण र औषधिमात्रै नभई चिकित्सक पनि उपलब्ध हुन्छन् । जीवनरक्षाका लागि आधारभूत सुविधा भएका एम्बुलेन्सलाई ‘ख’ वर्ग र सामान्य सुविधा भएकोलाई ‘ग’ वर्गमा राखिएको छ । सञ्चालकले एम्बुलेन्स भित्र्याउनुअघि नै वर्ग छनोट गर्नुपर्छ । ‘क’ वर्गको एम्बुलेन्स मुटुका रोगी र जोखिममा रहेका बिरामीका लागि आवश्यक हुन्छ । ‘ख’ वर्गको मध्यम जोखिममा रहेका बिरामीका लागि चाहिन्छ भने कम जोखिममा रहेका बिरामीका लागि ‘ग’ वर्गको एम्बुलेन्स प्रयोग गर्न सकिन्छ । सुर्खेतमा भने यी कुनै पनि सुविधा नभएका एम्बुलेन्स सञ्चालनमा छन् ।
‘क’ र ‘ख’ वर्गका एम्बुलेन्समा मापदण्डअनुसार औषधि, उपकरण र दक्ष जनशक्ति राख्न महँगो पर्ने र यस्तो सुविधा राख्दा बिरामीले शुल्क तिर्न नसक्ने भएकाले समस्या रहेको एम्बुलेन्स सञ्चालकहरू बताउँछन् । नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति लीलाराम सुवेदीले सेवाभावले एम्बुलेन्स सञ्चालन गरिने हुँदा महँगा उपकरण, प्रविधि, औषधि र जनशक्ति राख्न नसकिएको बताए ।
अहिले पूर्णरूपमा मापदण्डअनुसार नभए पनि मापदण्ड कायम गर्ने पहल भइरहेको उनले बताए । ‘तत्काल जिल्लाका सबै एम्बुलेन्सलाई न्यूनतम ‘ग’ वर्गको बनाउन पहल भइरहेको छ,’ उनले भने । सुर्खेतमा नेपाल रेडक्रस सोसाइटीका २, रेयुकाई, हिमाली बचत तथा ऋण सहकारी संस्था, भुपू सैनिक कल्याणकारी समिति, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल अर्बुद रोग निवारण संस्थाका १/१ गरी ७ वटा एम्बुलेन्स सञ्चालनमा छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दुई वटा एम्बुलेन्स भाडामा दिइएको छ । सञ्चालन समितिका संयोजक एवं सिडिओ पुरुषोत्तम कुँवरले मापदण्डअनुसार नभएको र दुरुपयोग भएको उजुरी आए कारबाही गर्ने बताए ।

प्रतिक्रिया