कांग्रेसका ३५ नेता, कार्यकर्ता रिहा

काठमाडौं, ११ असार । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका कांग्रेस भातृ संगठनका नेता तथा कार्यकर्तालाई प्रहरीले रिहा गरिदिएको छ ।
त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर गौशाला प्रहरी प्रभागमा राखिएका ३५ जनालाई रिहा गरेको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए । प्रहरी हस्तक्षेपमा मिनभवन क्याम्पसमा अध्यनरत नेविसंघका नेता सरोज खतिवडाको टाउकोमा गम्भीर चोट लागेको लामिछानेले बताए । खतिवडाको महेन्द्रनारायण निधि स्मृति अस्पताल गौशालामा उपचार भईरहेको छ ।
पक्राउ परेका कांग्रेसका ३५ नेता तथा कार्यकर्तालाई केही समय राखेर रिहा गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नेविसंघ अध्यक्ष रन्जीत कर्ण, किसान संघ अध्यक्ष भानु सिग्देल, तरुण दलकी केन्द्रीय सदस्य सरस्वती शाह, नेविसंघका केन्द्रीय सदस्य मोतिलाल भण्डारी, ओम गुरुड, अनिल खनाल, वीरेन्द्र शर्मा, किसान संघकी बसन्ती घिमिरे, लगाएतका ३५ जना रहेका छन् ।
विमानस्थलको मुल गेटनजिक प्रधानमन्त्री भट्टराईलाई कालो झण्डा देखाई विरोध जनाउन पुगेका कांग्रेसका युवा, विद्यार्थीलाई प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको हो । यद्यपि युवा, विद्यार्थीले प्रहरी हस्तक्षेपका बाबजुद कालो झण्डादेखाएर विरोध जनाएको प्रवक्ता लामिछानेल बताए ।
कांग्रेसले सरकारका असंवैधानिक क्रियाकलाप रोक्नुपर्ने, प्रधानमन्त्री भट्टराईले सहमतिका लागि मार्ग प्रसस्त गर्नुपर्ने लगायतका माग राखेर सडक आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया