कैलाली, ११ असार । विकासका लागि आएको रकम बाँडफाँडमा सहभागी हुन नपाएका अछामका तीन दलले एलडिओ र योजना अधिकृतविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।
कर्णाली र कर्णालीवरिपरि विशेष कार्यक्रमअन्तर्गत स्थानीय विकास मन्त्रालयबाट प्राप्त योजनामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । कर्णालीवरिपरि विशेष कार्यक्रमअन्र्तगत चार शीर्षकमा प्रतियोजना २० लाख रुपियाँभन्दा माथिको योजनामा करिब एक करोड ५० लाख रुपियाँ पूर्वीक्षेत्रमा पर्ने कर्णाली नदी प्रभावित क्षेत्रका लागि आएको थियो ।
तर, योजनाको रकम एलडिओ महेन्द्रलाल श्रेष्ठ र योजना अधिकृत खेमराज जोशीले दलको सुझाब नलिई सरकारले तोकेको निर्देशिकाविपरीतका योजनामा बाँडफाँड गरेर दुरुपयोग गरेको भन्दै नेकपा (माले)का सचिव हिरण्य कुँवर, फोरम लोकतान्त्रिकका देवेन्द्रबहादुर शाह र मजदुर किसान पार्टीका अध्यक्ष झंकर शाहीले अख्तियारमा उजुरी दिएका हुन् ।
उनीहरूले संयुक्तरूपमा अख्तियारमा दिएको उजुरीमा २१ जेठमा एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)सँगको मिलेमतोमा कमिसनको लोभमा योजना आफूखुसी बाँडफाँड गरेको अरोप लगाइएको छ । योजनाबाट रोजगारी र लाभ पाउने उद्देश्यको उपहास भएको भन्दै अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरिएको छ ।
एकीकृत नेकपा (माओवादी)का झंकर साउदले उजुरी पूर्वाग्रही भएको बताए । योजना छनोटमा दलको कुनै भूमिका नहुने बताउँदै उनले आफूले एलडिओ श्रेष्ठलाई सुझाब मात्र दिएको बताए । योजनाले जिल्लाका कर्णालीवरिपरि भन्दा बाहिरका क्षेत्रलाई पनि समेटेको छ ।
प्रतिक्रिया