प्रहरीले रोक्यो बालविवाह

वीरगन्ज, ११ असार । पर्सा सखुवा प्रसौनीमा प्रहरीले विवाहमण्डपमै हस्तक्षेप गरेर बालविवाह रोकेको छ ।

सखुवा प्रसौनी–७ थापा टाँडी टोलका १६ वर्षीय हरिकृष्ण बैठा र शिवबर्वा–३ की १३ वर्षीया बालिकाको विवाहमा प्रहरीले हस्तक्षेप गरेको हो । कानुनअनुसार आमाबुबाको मन्जुरीमा बिहे गराउँदा केटाकेटीको उमेर कम्तीमा १८ वर्ष पुगेको हुनुपर्छ ।
सखुवा प्रसौनी–६ मा रहेको मोतीनमाई मन्दिरमा आइतबार दिउँसो भइरहेको वैवाहिक कार्यक्रममा पुगेको प्रहरीले विवाहका लागि उमेर नपुगेको भन्दै केटाकेटी दुवैलाई विवाहमण्डपबाटै उठाइएको थियो । बालविवाह भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय एकटाङगाबाट सई कृष्णप्रसाद लामिछानेको नेतृत्वमा टोली मण्डपमा पुगेको थियो । विवाहमा केटीपक्षका समेत गरी ८० जना उपस्थित थिए ।
‘हामी जाँदा केटाकेटी दुवै जग्गेमा बसिसकेका थिए,’ सई लामिछानेले भने, ‘दुवै पक्षका अभिभावकलाई बालविवाहविरुद्ध कानुनी सजायबारे बताएपछि बिहे रोकिएको हो ।’
केटाकेटी दुवैका अभिभावकलाई सम्झाउँदा सुरुमा उनीहरूले विवाह रोक्न मानेका थिएनन् । ‘खर्च धेरै भएको छ भनेर मानेका थिएनन्,’ लामिछानेले भने, ‘विावह रोक्न कारबाहीको चेतावनी नै दिनुपर्‍यो ।’ प्रहरीले सम्झाइबुझाई गरेपछि केटाकेटी दुवैका अभिभावक उमेर पुगेपछि मात्र बिहे गराउन राजी भएका छन् ।
पर्सामा बालविवाहविरुद्ध विभिन्न संघसंस्थाले सचेतना अभियान सञ्चालन गरे पनि बालविवाह घटेको छैन । सामुदायिक अनुसन्धान केन्द्र पर्साका अध्यक्ष एवं अधिवक्ता राजेश्वरी तिवारी स्कुले विद्यार्थीमा प्रेम भएपछि विवाहमा रूपान्तरण हुने कारण बालविवाह बढेको बताउँछन् । ‘दाइजोका कारण पनि कलिलैमा विवाह हुने गरेको छ,’ तिवारीले भने, ‘अभिभावक पनि थोरै दाइजो दिएर सानै उमेरमा छोरीको विवाह गराउने काममा लागेको पाइएको छ ।’ पर्सा जिल्लामा वर्षमा ३० भन्दा बढी बालविवाह हुने गरेको पाइएको छ ।

प्रतिक्रिया