इलाममा पाँच अझै बेपत्ता

इलाम, ११ असार । सशस्त्र द्वन्द्वका समयमा विभिन्न पक्षबाट बेपत्ता बनाइएका इलामका पाँचजनाको अवस्था अज्ञात छ । विभिन्न मितिमा बेपत्ता भएका उनीहरूको स्थिति सार्वजनिक नहुँदा पीडित परिवार थप चिन्तित छन् ।

फाकफोक–१ का गोकुल निरौला, पुवामझुवा–८ का अगमसिंह राई, चिसापानी–१ का लोकबहादुर थापा, शान्तिपुर–१ का लोकेन्द्र भट्टराई र जिर्मले–४ का नीरबहादुर रिजाल बेपत्ता छन् । यस्तै, मंगलबारे–३ का अखिल (क्रान्तिकारी) का तत्कालीन केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसमेत रहेका कटक साङपाङलाई पनि एकीकृत नेकपा (माओवादी)ले बेपत्ताकै सूचीमा राखेको छ ।
तर, इन्सेकले उनको राज्य पक्षबाट हत्या भएको जनाएको छ । साङपाङलाई १ माघ ०५८ मा बाँझोस्थित लारुम्बाबाट तत्कालीन काम्ब्राङले नियन्त्रणमा लिएर सेनालाई बुझाएको थियो । एक वर्षपछि शान्तिपुर–३ स्थित बिलन्दे जंगलमा सेनाले उनको हत्या गरेको इन्सेकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । इन्सेक प्रतिनिधि अशोककुमार बान्तवाले भने, ‘अध्ययनका क्रममा साङपाङको हत्या भएका प्रमाण र पर्याप्त आधार फेला परेका छन् ।’
तर, एकीकृत माओवादीले भने साम्पाङ मारिएकोबारे राज्यबाट आधिकारिक पुष्टि नभएकाले बेपत्ताकै सूचीमा राखेको बताएको छ । जिल्ला इन्चार्ज राम राईले भने, ‘उनी मारिएको राज्यबाट आधिकारिक पुष्टि भएको छैन ।’
फाकफोकका निरौला बेपत्ता भएको १० वर्ष बित्यो । उनको स्थिति अज्ञात छ । उनलाई ०५९ मा काठमाडौंबाट सुरक्षाकर्मीले माओवादीको आरोपमा पक्राउ गरेको थियो । पुवामझुवाका राई हराएको पनि आठ वर्ष पुग्यो । उनलाई ७ फागुन ०६१ मा घरैबाट माओवादीले अपहरण गरेर बेपत्ता बनाएको हो । उनलाई पाँच दिनसम्म गाउँमै माओवादीले डुलाएर हिँडाएको थियो ।
चिसापानीका थापा नेपाल प्रहरीमै रहेका बेला ०५९ देखि बेपत्ता छन् । दुई वर्षअघि विराटनगरमा प्रहरीमा भर्ना भएका थापा दाङमा सरुवा भएर गएकोसम्म थाहा भए पनि त्यसयता उनको अवस्था अज्ञात रहेको इन्सेक प्रतिनिधि बान्तवाले बताए । थापाले ०५८ मा अन्तिमपटक घरमा चिठी पठाएका थिए ।
शान्तिपुरका भट्टराई ०६३ देखि बेपत्ता छन् । धरानबाट हराएका उनको अत्तोपत्तो छैन । शाहीकालका जिविस इलामका सदस्य रहेका भट्टराईलाई बेपत्ता पार्नेको पहिचानसमेत भएको छैन । भट्टराईकी पत्नी मायाले पटकपटक पतिको खोजी गरिदिन आग्रह गर्दै आएकी छन् ।
जिर्मलेका रिजाल पनि ०६१ देखि बेपत्ता छन् । उनलाई घरैबाट अज्ञात समूहले अपहरण गरेका थिए । बेपत्ताका परिवारले खोजीका लागि आग्रह गरे पनि राज्यका तर्फबाट पहल नभएको गुनासो गर्दै आएका छन् ।

अपहरित शिक्षक बेखबर

सौर्य समाचार

धादिङ, ११ असार । अज्ञात समूहको अपहरणमा परेका एक शिक्षक डेढ वर्षदेखि बेखबर छन् । बैरेनी–६ पाल्चोकस्थित जलकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापक राजु पन्त वडा नम्बर ६ स्थित घरबाटै ९ कात्तिक ०६७ मा अपहरित भएका हुन् ।
घरैबाट बेपत्ता भएका पतिको खोजी गरिदिन माग गर्दै पत्नी विष्णुमाया विभिन्न निकायमा धाइरहेकी छिन् । ‘अपहरणमा पर्नुअघि आफ्नै दाजुभाइसँग अंश लेनदेन मुद्दा चलिरहेको थियो,’ विष्णुमायाले भनिन्, ‘मुद्दाकै विषयलाई लिएर राजनीतिक कार्यकर्ताले पटकपटक पन्तलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए भने प्रहरी लगाएर थुनाइएको पनि थियो ।’
एकीकृत नेकपा (माओवादी) बैरेनी गाउँ इन्चार्ज प्रेमबहादुर अधिकारीको नेतृत्वमा २ भदौ ०६७ मा पन्तलाई गालीबेइज्जतीको आरोपमा प्रहरी चौकी बैरेनीमार्फत गजुरीमा थुन्न लगाएकै दिन विद्यालयका शिक्षक कर्मचारीलाई खुवाउनका लागि ल्याइएको दुई लाख रुपियाँ पनि घरैबाटै लुटिएको बिष्णुमायाले बताइन् ।
शिक्षकलाई दसैँको तलब खुवाउन ल्याइएको रकम लुटिएपछि समस्यामा परेका पन्तलाई जग्गाका विषयमा आफन्तहरूले पटकपटक सहमतिका नाममा धम्की दिनुका साथै अंशमुद्दा नमिलाए ज्यान जान सक्ने चेतावनी दिएका थिए । ‘पतिलाई त घरबाटै बेपत्ता पारे,’ विष्णुमायाले भनिन्, ‘पतिको खोजी गरेमा ज्यान जाला भन्दै पटकपटक धम्की खेप्दै आइरहेकी छु ।’ उनले आफ्नो जीवन रक्षाका लागि पनि अपिल गरेकी छन् ।
पन्त नेपाली कांग्रेस समर्थित नेपाल शिक्षक संघका साधारण सदस्य थिए । ‘केन्द्रीय समितिमा पटकपटक कुरा उठाएको छु,’ संघका केन्द्रीय सदस्य हरेराम बुर्लाकोटीले भने, ‘तैपनि, पन्तको अवस्था अज्ञात नै छ ।’ पन्तको रकम लुटेको आरोप लागेका वाइसिएल कार्यकर्ता विष्णुबहादुर तामाङ फरार छन् ।
तामाङले शिक्षक पन्तको घरबाट रकम लुटेर भाग्दै गरेको देख्ने अधिकारी थरका एक युवकलाई घटना सार्वजनिक गरेको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष एवं धादिङ क्षेत्र नम्बर ३ का पूर्वसभासद् शालिकराम जमरकट्टेलका स्वकीय सचिव श्रीराम अधिकारीले ५ असारमा काठमाडौं कलंकीमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । पतिको अपहरण र लुटपाटमा माओवादी कार्यकर्ताको संलग्नता रहेको पत्नी विष्णुमायाले बताएकी छन् ।

प्रतिक्रिया