एमालेमा पाँच नेताको फरक मत दर्ता

काठमाडौं, १० असार । एमालेका ५ नेताले जातीय आधारमा प्रदेश निर्माण नगर्ने राष्ट्रिय प्रतिनिधि परिषद् तथा राष्ट्रिय कार्यकर्ता भेलाको म्याण्डेट विपरित जातीय आधारमै प्रदेशहरुको नामाकरण गरिएको भन्दै पार्टी फरकमत दर्ता गराएका छन् ।
पोलिटब्युरो सदस्य रघुजी पन्त, महेन्द्र पाण्डे, भीम रावल, बेदुराम भुसाल र गुरु बरालले आफ्नो मत अन्तरपार्टी निर्देशन मार्फत आम कार्यकर्ता पंक्तिसम्म छलफलमा लैजान माग गर्दै केन्द्रीय सचिवालयमा आज फरकमत दर्ता गराएका हुन् ।
एकल जातीय पहिचानमा जान नहुने कार्यकर्ता भेला र राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले निर्देश गरे पनि शुक्रवार सम्पन्न केन्द्रीय कमिटी बैठकले घुमाउरो रुपमा जातीय आधारमै प्रदेश बनाउने निर्णय गरेको उनीहरुको आरोप छ । आफूहरुले नोटअफ डिसेन्ट लेखेको र त्यसलाई कार्यकर्तासम्म लैजान माग गरिएको उनीहरुले जनाएका छन् ।
सात प्रदेशको संख्यामा भने उनीहरुले सहमति जनाएका छन् । प्रदेशहरुको नाम भने उनीहरुले नयाँ प्रस्ताव गरेका छन् ।
जसमा कोशी, जनकपुर, वागमति, गण्डकी, गौतमबुद्ध, कर्णाली र सेती–महाकाली प्रदेश नामाकरण गरिएको छ ।
यसअघि शुक्रवार केन्द्रीय कमिटीले बहुजातीय पहिचानका किराँत–लिम्बुवान–कोशी, ताम्सालिङ–नेवा–बागमती, मगरात–तमुवान–गण्डकी, भेरी–कर्णाली, सेती–महाकाली, थरुहट–अवध–लुम्बिनी र मिथिला–भोजपुरा–जनकपुर प्रदेशका सात प्रादेशिक राज्यको नाम राख्ने निर्णय गरेको थियो ।
पन्त, रावल, पाण्डे, भुसाल र बरालले सहमतिको सरकार गठन गरी यसअघि दलहरुवीच सहमति भएको ३ सय ११ सदस्य रहनेगरी संविधानसभाको चुनाव मिति तोक्नु पर्ने र त्यसैले एक वर्षभित्र संविधान जारी गर्नु पर्ने मत पनि जाहेर गरेको छ ।
६ सय १ सदस्यीय संविधानसभाको यसअघिको संख्या घटाएर विवाद समाधान उपसमितिले निर्धारण गरेको प्रतिनिधिसभाको १ सय ७१ जना प्रत्यक्ष निर्वाचित र १ सय ४० जना समानुपातिक संख्यालाई नै संविधानसभाको नयाँ संख्या वनाउनु पर्ने उनीहरुको मत छ ।

प्रतिक्रिया