अलोकतान्त्रिक शक्तिलाई पराजित गर्छौं

काठमाडौं, १० असार । कांग्रेस सभापति सुशील कोइरालाले पार्टीको आन्तरिक एकतालाई कुनै पनि शक्तिले हल्लाउन नसक्ने दाबी गरेका छन् ।
नेपाल महिला संघले आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति कोइरालाले अब कांग्रेस एकताबद्ध भएर अलोकतान्त्रिक शक्तिहरूलाई पराजित गर्ने बताए । उनले विगतका तिक्ततालाई बिर्सेर अझ सशक्त र सुदृढ भएर प्रस्तुत हुन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए ।
महामन्त्री प्रकाशमान सिंहले एमाओवादीले जानीजानी मुलुकलाई राजनीतिक र संवैधानिक संकटमा फसाएको आरोप लगाए ।
उनले राष्ट्रिय सहमति मार्फत मुलुकलाई निकास दिन प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल कुर्सी छोड्नुपर्ने बताए ।
एमाओवादीले सत्ताकब्जा गर्ने उद्देश्यका साथ नयाँ चुनाव घोषणा गरेको भन्दै सिंहले वर्तमान संक्रमणलाई लम्बिन नदिन सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्ने धारणा राखे ।
पार्टी विवादका कारण लामो समय निस्क्रिय रहेको महिला संघ तदर्थ समितिले पार्टी विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरू सहमत भएपछि पहिलो औपचारिक कार्यक्रम गरेको हो ।

प्रतिक्रिया