काठमाडौं–दिल्ली हवाई भाडा दोब्बर


काठमाडौं, १० असार । काठमाडौं–दिल्ली सेक्टरको हवाई भाडा बढेको छ । यो सेक्टरमा उडान गर्ने अधिकांश भारतीय विमान कम्पनीले एकतर्फी रूपमा भाडा बढाएपछि यात्रुले दोब्बरसम्म भाडा तिर्नुपर्ने भएको छ ।
सञ्चालन खर्च, इन्धन सेवा शुल्क, विमानस्थल कर तथा ग्राउन्ड ह्यान्डलिङको सेवा शुल्कमा वृद्धि भएको भन्दै विमान कम्पनीले भाडा बढाएको ट्राभल एजेन्सी सञ्चालकले जनाएका छन् । विदेशी विमान कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङबापत प्रतिउडान २ हजार ५ सय डलर तिर्नुपर्छ । यसबाहेक विमानस्थलले एयरपोर्ट सेक्युरिटी तथा ल्यान्डिङ/पार्किङलगायतको छुट्टै शुल्क लिन्छ ।
एयर इन्डिया, जेट एयरवेज, स्पाइस जेट र इन्डिगो एयरलगायत सबै भारतीय कम्पनीले यो सेक्टरको भाडा ह्वात्तै बढाएका छन् । आयटाबाट मान्यता प्राप्त ट्राभल एजेन्सीका अनुसार सबै कम्पनीले बढेको भाडा लिन थालिसकेका छन् । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले काठमाडौं–दिल्ली हवाई भाडा ११ हजार २ सय ५३ बाट बढाएर १७ हजार ४ सय ५३ रुपियाँ बनाएको छ ।
त्यस्तै जेट एयरवेजको भाडा १० हजार ६ सय ८० बाट १२ हजार ४ सय ६० रुपियाँ पुगेको छ । स्पाइस जेटले पनि १२ हजार ५७ बाट बढाएर १५ हजार रुपियाँ पुर्‍याएको छ । इन्डिगो एयरको भाडा ११ हजार २ सय ५७ बाट बढेर १४ हजार ३ सय रुपियाँ पुगेको छ ।
भारतीय बजेट एयरलाइन्सहरूले सस्तो सेवाको दाबी गरे पनि वास्तविक रूपमा भाडा बढी रहेको ट्राभल एजेन्सी सञ्चालक बताउँछन् । ‘दिल्ली भाडा १५ देखि २० हजार रुपियाँसम्म पुगेको छ । न्यूनतम नै ११ हजार रुपियाँ छ,’ रूपाकोट ट्राभल्सका सञ्चालक ऋषि धमलाले भने । पहिले दुइतर्फी यात्रा गर्न सकिने रकमले अहिले एकातर्फी मात्र पुग्ने उनले बताए । उनका अनुसार यो सेक्टरमा टिकट पाउन पनि मुस्किल छ । दिल्ली सेक्टरमा जुलाईसम्मका लागि सबै टिकट बुक भइसकेको छ ।
हाल ६ वटा भारतीय विमान कम्पनीले काठमाडौं–दिल्ली दैनिक दर्जनभन्दा बढी उडान गरिरहेका छन् । यसमध्ये किङफिसरले अहिले सेवा बन्द गरेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भने गत मंसिरदेखि नै काठमाडौं–दिल्ली उडान स्थगित गरेको छ । यो सेक्टरमा प्रतिस्पर्धा तीव्र रूपमा बढेपछि उडान विश्वसनीयताको अभावमा निगमले उडान गर्न नसकेको बताइएको छ । राष्ट्रिय ध्वजाबाहक भएकाले दुई देशको सम्बन्धलाई मध्यनजर गरेर पनि उडान बन्द गर्न भने नमिल्ने निगम प्रवक्ता राजुबहादुर केसीले बताए । दिल्ली सेक्टरमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच यात्रु आकर्षित गर्न कडा प्रतिस्पर्धा भएपछि निगम यसमा पछाडि परेको उनको भनाइ छ ।
निमगले यो सेक्टरमा सबैभन्दा सस्तो मूल्यमा सेवा दिँदै आएको थियो । दुवै जहाज सञ्चालन हुँदा निगमले दिल्लीका लागि दैनिक एक उडान गथ्र्यो । तर, पछिल्लो केही वर्षदेखि यो सेक्टर घाटामा थियो । भारत नेपाली पर्यटनको मुख्य बजार हो । पर्यटन वर्ष २०११ मा १ लाख ४५ हजार ३ सय ३८ भारतीय पर्यटक हवाई मार्गबाट नेपाल आएको तथ्यांक छ । यो संख्या २०१० को तुलनामा ३९ प्रतिशतले बढी हो । सो वर्ष १ लाख ४ हजार ४ सय ७० भारतीय पर्यटक नेपाल आएका थिए । नेपाल आउने पर्यटकमध्ये आधाजसो भारतीय विमान कम्पनीबाट आउने गरेको तथ्यांक छ । भारतीय विमान कम्पनी पर्यटक नेपाल भित्र्याउने सूचीमा पहिलो १० नम्बरमा पर्छन् ।

प्रतिक्रिया