स्वरकिन्नरी तारादेवी


भाइबहिनीहरू, संगीत क्षेत्रमा धेरै प्रतिभाको जन्म भएको छ । कति प्रतिभा यस धर्तीबाट बिदा भइसके तर उनीहरूको स्वर अझै उत्तिकै रुचाइन्छ । संगीत आकाशमा सुरिलो स्वर लिएर प्रस्तुत हुनेमध्येमा पर्छिन् गायिका तारादेवी पनि । उनी नेपाली गायनमा बहुचर्चित नाम हुन् । थुप्रै मीठामीठा गीत गाएर तारादेवीले नेपाली जनमानसमा आफ्नो गायनप्रतिभाको उत्कृष्ट परिचय दिएकी थिइन् ।
तारादेवीको जन्म कृष्णबहादुर कार्की तथा राधादेवीकी सुपुत्रीका रूपमा २००२ साल माघ २ गते काठमाडौंको इन्द्रचोकमा भएको थियो । तोतेबोलीदेखि नै तारादेवीले नेपाली भाषामा गायनको आरम्भ गरेकी थिइन् । उनी पाँच वर्षको उमेरमा भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुगेकी थिइन् । त्यसबखत तारादेवीको बालस्वरले धेरैलाई चकित अनि मोहित बनाएको थियो । त्यस बेला यिनले रेडियो नेपालमा नि:शुल्क नै बालगीत गाउने गर्थिन् । केही वर्षपछि यिनले एउटा गीत गाएको पाँच रुपियाँ पाउन थालिन् । उनको योग्यतामा निखार आउन थाल्यो । रेडियो नेपालमा तारादेवीलाई खरदारसरहकी गायिकामा नियुक्त गरियो । केही समयपछि यी रेडियो नेपालको नायब सुब्बास्तरीय गायिकामा बढुवा भइन् । त्यस पदमा रही यिनले लगातार तीन दशकसम्म रेडियो नेपालको सेवा गरिन् । त्यस बेलासम्ममा यिनले प्रवेशिका परीक्षा पनि पास गरिन् र संगीतमा स्नातकको योग्यता हासिल गरिन् ।
उकाली ओरालीहरूमा, शुभकामना भई, कालीपारे दाइ कति राम्रो, साँघुरी बारी नि हो, सोचेजस्तो हुन्न जीवन, फूलको थुंगा बगेर गयोजस्ता मौलिक अनि सदाबहार नेपाली गीत उनले गाएकी छन् । तारादेवीले गाएका गीत गुनगुनाउने धेरै छन् । उनका गीतमा मान्छेको मर्म, खुसी र जिन्दगानी भेटिन्छ ।
रेडियो नेपालमा ३० वर्षसम्म नासुको पदमा रहेपछि तत्कालीन राजा वीरेन्द्रको निगाहमार्फत उनी शाखा अधिकृत भइन् । उनले गीत गाएरै इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान पाएकी छन् । स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दन ग्रहण गरेकी छन् ।
तारादेवीले नेपाली भाषामा तीन हजारभन्दा बढी गीत गाएकी छन् । उनले लोकगीत, भजन र राष्ट्रिय गीत पनि थुप्रै गाइन् । यद्यपि उनका आधुनिक गीत बढी रुचाइएका छन् । उनका गीतमध्ये २५ सयभन्दा बढी आधुनिक विधाका छन् । २०६२ साल माघ १२ गते उनको निधन भयो । तारादेवी मरेर गए पनि उनको आवाज नेपालीमाझ जीवितै छ । यिनलाई ‘स्वरकिन्नरी’को उपमासमेत दिने गरिएको छ ।

प्रतिक्रिया