नाइकेका घरमा छापा मारिएन

काठमाडौं, १० असार । उपत्यकामा सञ्चालित संगठित अपराधमा संलग्न ६४ सदस्यका घरमा प्रहरीले छापा मारे पनि मुख्य नाइकेका घर भने छुटेका छन् ।

काभ्रेली ‘ग्याङ’ का प्रमुखका रूपमा चिनिएका डन गणेश लामा र चाबहिलका अर्का डन राजु गोर्खालीको घर प्रहरीले छुटाएको हो । चर्चित डन चक्रे मिलन, काजी शेर्पाका घरमा पनि प्रहरीले छापा मारेन ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्यसमेत रहेका लामा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारका दाहिने हात मानिन्छन्् । गोर्खाली ज्यान मुद्दामा दुई वर्ष कैद सजाय भुक्तान गरेर जेलबाट छुटेका हुन् । चक्रे केन्द्रीय कारागारमा छन् । शेर्पा प्रहरीको रासनपानी ठेक्कापट्टामा सक्रिय छन् ।
महानगरीय प्रहरीपरिसर काठमाडौंले ‘सिल एन्ड सर्च अपरेसन’ अन्तर्गत उपत्यकामा सक्रिय ‘डन’को सूची बनाएर उनीहरू बस्ने घरमा छापा मारेको हो । करिब एक साताको तयारीपछि प्रहरीले शनिबार बिहान ३ बजे उनीहरू बस्ने घरमा छापा मारेको थियो । प्रहरीले तयार पारेको सूचीमा लामा, गोर्खाली, चक्रे, शेर्पा, गुरुङको घर परेका थिएनन् ।
लामा तीनकुनेस्थित निवासमा बस्दै आएका छन् भने गोर्खाली चाबहिलको घरमा । केन्द्रीय कारागारमा रहेका चक्रेको घर महाराजगन्जमा छ, शेर्पा ठेक्कापट्टामा संलग्न छन् । प्रहरीले उनीहरूको समूहमा कार्यरत अधिकांश ‘मिनी डन’ का घरमा भने छापा मारेको थियो । प्रहरीलाई यी घरहरू पत्ता लगाउन मात्रै एक साता लागेको थियो । तयारी पूरा गरेरै परिसरले मातहतका पाँचवटा वृत्त र ११ वटा प्रभागलाई सूचीमा परेका ६४ डनका घरमा छापा मार्न निर्देशन दिएको थियो ।
छापा मार्न प्रहरीले तयार पारेको सूचीमा लामा र गोर्खाली समूहमा काम गर्ने अधिकांश डनका घर परेका थिए । त्यसैले शनिबार लामा समूहमा कार्यरत अभिमानसिंह बस्नेत, मिलन लामा, पन्चे लामा, दाबा लामा, फुर्वा लामा, सञ्जय लामा, उमेश लामालगायतका घरमा प्रहरीले छापा मारेको थियो । गोर्खाली समूहका विनोद श्रेष्ठ र सञ्जय डंगोलको घरमा मात्रै छापा मारिएको थियो । चक्रे समूहका तेजेन्द्र गुरुङ, अखिल खड्का, रामु श्रेष्ठको घरमा पनि छापा मारेको थियो ।
प्रहरीका अनुसार विगतमा अपराधमा संलग्न भए पनि पछिल्लोपटक सामाजिकीकरणमा लागेकाले उनीहरूको घरमा छापा नमारिएका हो । परिसर प्रमुख एसएसपी जयबहादुर चन्दले भने, ‘सधँैभरि आपराधिक नजरबाट हेरिनु पनि हुँदैन, उनीहरूलाई सुध्रने मौका पनि दिनुपर्छ भनेर उनीहरूको घरमा छापा मारिएन ।’
संगठित अपराधमा लगभग निष्क्रिय डन दीपक मनाङे, कुमार घैँटे, बाघे लामाको घरमा पनि प्रहरीका छापा परेको थियो । गैँडाको खाग तस्करी अभियोगमा पक्राउ परेर केही महिनाअघि मात्रै छुटेका चरी भनिने दिनेश अधिकारी, विगतका चर्चित डन शशि अधिकारी, उमेश लामा, सञ्जय लामा, फुर्वा लामालगायतका घरमा छापा मारिएको थियो । प्रहरीले उनीहरू कसैलाई पनि पक्राउ गरेन । बिहान तीन बजेदेखि नै घरमा छापा मारिएकाले अधिकांश डनहरू घरमै भेटिएका थिए ।
एसएसपी चन्दका अनुसार उनीहरूका घरमा केही नभेटिएपछि छाडिएको हो । उनले भने, ‘हतियार हुन सक्ने आशंकामा छापा मारिएको हो तर भेटिएन, विनाप्रमाण किन कसैलाई पक्राउ गर्ने ?’
अभियानअन्तर्गत प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मखनटोलका २४ वर्षीय सुदीप स्थापित र दमाईंटोलका २० वर्षीय सिपाही भनिने रवीन्द्र देउला छन् । पक्राउ परेका स्थापितसँग १० ग्राम ब्राउन सुगर बरामद भएको छ भने देउला ज्यान मार्ने उद्योग मुद्दाका फरार अयिभुक्त हुन् ।

प्रतिक्रिया