५२ वर्षे त्रिविको एउटा मात्र स्थायी क्याम्पस

काठमाडौं, ९ असार । त्रिभुवन विश्वविद्यालय स्थापना भएको ५२ वर्षको अवधिमा आठ सय २६ वटा क्याम्पसलाई सम्बन्ध दिइसकेको छ । स्थायी सम्बन्धन भने एउटा क्याम्पसले मात्र लिएको छ ।
त्रिवि योजना महाशाखा प्रमुख प्रल्हाद पन्तले अहिलेसम्ममा पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेजले मात्र स्थायी सम्बन्धन पाएको बताएका छन् । अन्य क्याम्पस प्रत्येक वर्ष सम्बन्धन नवीकरण गर्दै सञ्चालन भइरहेका छन् । महाशाखा प्रमुख पन्तका अनुसार मापदण्ड पूरा गर्न नसकेका कारण स्थायी सम्बन्धनका लागि अन्य क्याम्पसबाट आवेदन नै आएको छैन । त्रिविले अब मापदण्ड पूरा नगर्ने क्याम्पसविरुद्ध कडा कदम चाल्ने तयारी गरेको छ । मापदण्ड पुगेकालाई स्थायी सम्बन्धन दिने र नपुगेका क्याम्पसलाई खारेज गर्ने तयारीका साथ त्रिवि अघि बढेको छ ।
त्रिविका सम्बन्धनप्राप्त क्याम्पसलाई व्यवस्थित बनाउन उपकुलपति प्रा. डा. हीराबहादुर महर्जनले समिति गठन गरेका छन् । समितिले सम्बन्धनसम्बन्धी नियमावली तयार पार्ने जिम्मेवारी पाएको छ । पन्तका अनुसार नियमावली तयार भइसकेपछि सोही आधारमा अनुगमन गरिनेछ । ‘निर्देशिकाका आधारमा अनुगमन गर्दा मापदण्ड पूरा गर्नेले स्थायी सम्बन्धन पाउँछ,’ उनले भने, ‘मापदण्ड पूरा नगर्नेलाई केही समय मौका दिने र काम गर्न सकेन भने सम्बन्धन नै खारेज हुन्छ ।’
सम्बन्धनप्राप्त क्याम्पस प्रत्येक वर्ष निश्चित शुल्क बुझाएर नवीकरण हँुदै आएका छन् । त्यस्ता क्याम्पसले विद्यार्थी भर्नाबापत प्रत्येक वर्ष प्रतिविद्यार्थी एक महिनाबराबरको शुल्क त्रिविलाई बुझाउनुपर्ने प्रावधान छ । कतिपय क्याम्पसले भने त्रिविलाई झुक्याएर कम शुल्क तिर्ने गरेको पाइएको त्रिविका कर्मचारी बताउँछन् । विद्यार्थीबाट धेरै शुल्क असुलेर त्रिविलाई कम देखाएको प्रमाण फेला परे त्यस्तो क्याम्पसलाई कारबाही गरिने पन्तले बताए ।
‘सम्बन्धनप्राप्त क्याम्पसले मासिक शिक्षण शुल्क दुई हजार रुपियाँ उठाएर त्रिविलाई पाँच सय दरले तिर्ने गरेको गुनासो आएको छ,’ पन्तले भने, ‘अब त्यस्ता कलेजको छानबिन गरेर कारबाही गर्छौं ।’
त्रिविले २०३५ सालदेखि निजी क्याम्पसलाई सम्बन्धन दिन थालेको थियो । पशुपति बहुमुखीलगायतका क्याम्पस पुराना भए पनि ती क्याम्पसहरूले अहिलेसम्म स्थायी सम्बन्धन लिएका छैनन् । त्रिविका अहिले आठ सय २६ सम्बन्धनप्राप्त र ६० वटा आंगिक क्याम्पस छन् ।
त्रिवि सूचना शाखाका अनुसार सम्बन्धनप्राप्त क्याम्पसमध्ये चार सय १६ वटा शिक्षाशास्त्र संकायका छन् । त्यसपछि मानविकी, व्यवस्थापन र विज्ञान संकायका छन् । त्रिविका मेडिकल, नर्सिङ र डेन्टल गरी १८ क्याम्पसले सम्बन्धन पाएका छन् । इन्जिनियरिङ अध्यापनका लागि नौवटाले सम्बन्धन पाएका छन् ।

प्रतिक्रिया