हर्सबलको प्रदर्शनी खेल

काठमाडौं : विन्ड हर्स स्टेबल्स प्रालिले बिहीबार हर्सबलको प्रदर्शनी खेल सञ्चालन गर्‍यो । थापाथलीमा भएको खेलमा नीरज केसी, वेद विक र शिवराम बुढाथोकीको टिमले गोविन्द खड्का, नारायण कार्की र चन्द्र शाहीको टिमलाई ५–२ ले पराजित गर्‍यो । उक्त खेलको राखेप सदस्य–सचिव एवं नेपाल इक्वेस्ट्रियन संघका अध्यक्ष युवराज लामाले निरीक्षण गरेका थिए । निरीक्षणका दौरान सदस्य–सचिव लामाले घोडचढी नेपालको पुरानो खेल भएको बताउँदै यसको विकासका लागि राखेपबाट खेल स्थलको निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । राइडरका सदस्य किशन प्रधानले घोडा र मानिसको राम्रो तालमेलले मात्र यो खेल सम्भव हुने भएकाले यसतर्फ विशेष ध्यान दिन आवश्यक रहेको बताए । सो अवसरमा खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे र संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय हाइस्कुल गोजुरियो कराते
काठमाडौं : अन्तर्राष्ट्रिय हाइस्कुल गोजुरियो कराते प्रतियोगिता शनिबार हुने भएको छ । कपन डोजोको आयोजनामा हुने प्रतियोगितामा भारतबाट ३० जना गरी २ सय १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कपनमा हुने एकदिने प्रतियोगितामा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुने संयोजक दीपक लामाले जनाएका छन् ।

बाग्मतीमा थ्री बाई थ्री बास्केटबल
काठमाडौं : बाग्मती मोडर्न कलेजको आयोजनामा प्रथम बागमती मोडर्न थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदै छ । दुईदिने प्रतियोगितामा एसएलसी दिएका विद्यार्थीहरूको टिमको सहभागिता रहने आयोजकले जनाएको छ । छात्रतर्फ ४० तथा छात्रातर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेल सुकेधारास्थित आयोजकको कोर्टमा सञ्चालन हुनेछ ।                              (सौस)

प्रतिक्रिया