‘मिर्गौला र आँखामात्र बेच्न खोजेकी हुँ’

सिन्धुपाल्चोक, ८ असार । ‘मान्छे होइन, मिर्गौला र आँखामात्र बेच्न खोजेकी हुँ,’ मानव बेचबिखन आरोपमा पक्राउ परेकी दोलखा चिलंखाकी अनुजा गुरुङले प्रहरीसँग भनिन्, ‘आर्थिक अवस्था कमजोर भएकाले यस्तो अपराधमा फसेँ ।’
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पांग्रेटार–७ की १५ वर्षीया सपना तिमल्सिनालाई बेच्न लागेको आरोपमा गुरुङलाई पक्राउ गरेको हो । गुरुङले एक महिनाअघिदेखि काठमाडौंको एक होटलमा बन्धक बनाएकी सपना भागेर घर फर्कन सफल भएपछि परिवारले प्रहरीमा जाहेरी दिएको थियो । स्थानीय सेतीदेवी शारदा मविमा कक्षा सातमा अध्ययनरत तिमल्सिनालाई १५ वैशाखमा गुरुङले कोकाकोलामा बेहोस हुने औषधि खुवाएर काठमाडौं पुर्‍याएकी थिइन् । ‘उनलाई म पहिलेदेखि नै चिन्थेँ,’ गुरुङले भनिन्, ‘एउटा विवाह कार्यक्रममा भेट भएपछि काठमाडौंमा गएर जागिर खाऊ भन्दा नमानेपछि कोकाकोलामा विष मिसाएर खुवाउँदै काठमाडौं पुर्‍याएकी हुँ ।’
‘मैले उसलाई बेच्न खोजेको होइन, आँखा र मिर्गौला मात्रै बेच्न खोजेकी हुँ,’ गुरुङले दोहोर्‍याइन्, ‘घरमा खान पनि नपुग्ने भएपछि काठमाडौं गएँ ।’ उनले काठमाडौंमा ट्याक्सी ड्राइभरले यस्तो काम गर्न लगाएको बताइन् । त्यसपछि गाउँमा यस्ता केटी खोजी अभियानमा लागेको उनले बताइन् ।
गुरुङले आफूलाई काम दिने ट्याक्सी ड्राइभरबाहेक अरूलाई नचिनेको बताइन् । उनले एकजनाको आँखा र मिर्गौला बिक्री गरेबापत छदेखि सात लाख रुपियाँसम्म आउने ट्याक्सी चालकको आश्वासनमा यस्तो काम गरेको बताइन् ।
‘तिमल्सिनाको आँखा र मिर्गौला बेच्न पाइएको भए कमाइ हुन्थ्यो, उनलाई पनि एक लाख रुपियाँ दिने थियौँ,’ गुरुङले भनिन्, ‘भारतका मानव अंग किन्ने गिरोहसँग पैसाको कुरा नमिलेका कारण एक महिनासम्म सपनालाई काठमाडौंमै राख्नुपरेको हो ।’ गुरुङलाई मानव बेचबिखन मुद्दामा कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनराज राजभण्डारीले बताए ।

प्रतिक्रिया